इजरायल र इरानबीच युद्धविराम, द्वन्द्व अन्त्यकाे विश्वास

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र इरानबीच युद्धविराम सम्झौता भएको छ। मंगलबार भएको यो सम्झौतासँगै मध्यपूर्वमा तनाव चर्काएको १२ दिने द्वन्द्वको अन्त्य भएको हो। युद्धविराम लागू हुनुभन्दा ठीक अघि दुवै पक्षबाट भएका अन्तिम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको थियो।

तेहरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति ट्रम्पले युद्धविरामको प्रस्ताव अघि सारेका थिए। इरानले आक्रमण रोक्ने समयसीमा नाघेपछि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखे, “युद्धविराम अब लागू भएको छ। कृपया यसलाई उल्लङ्घन नगर्नुहोस्!”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा युद्धविराम स्वीकार गरिएको पुष्टि गर्नुभयो। उहाँले १२ दिने सैन्य कारबाहीमा इजरायलले आफ्ना सबै लक्ष्य पूरा गरेको दाबी गर्नुभयो। “हामीले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको खतरा हटायौँ, उसको सैन्य नेतृत्व र सरकारी संरचनामा क्षति पुऱ्यायौँ,” नेतान्याहुले भन्नुभयो। उहाँले युद्धविराम उल्लङ्घन भएमा कडा जवाफ दिने चेतावनी पनि दिनुभयो।

यता, इरानी सरकारी टेलिभिजनले स्थानीय समयअनुसार बिहान ७:३० बजेदेखि युद्धविराम लागू भएको जनाएको छ। यद्यपि, सम्झौताअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘इजरायलले आक्रमण रोकेमा मात्रै आफूहरू पछि हट्ने’ भन्दै केही शर्त अघि सारेका थिए।

युद्धविराम लागू हुनुअघि मंगलबार बिहानै इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको र आठ जना घाइते भएको इजरायली उद्धार सेवाले जनाएको छ। त्यसअघि इजरायलले पनि रातभर इरानका विभिन्न सहरमा हवाई हमला गरेको थियो।