मध्यपूर्व तनावः इरानको चेतावनीले तेल आपूर्तिमा सङ्कट, होर्मुज मार्ग सुरक्षित गर्न ट्रम्पको अपिल
एजेन्सी, १ चैत्र । मध्यपूर्वमा चुलिँदै गएको टकरावले विश्वव्यापी तेल आपूर्तिमा गम्भीर सङ्कट निम्त्याउनुका साथै अन्तर्राष्ट्रिय तनाव बढाएको छ। इरानले छिमेकी राष्ट्रहरूलाई चेतावनी दिने र अमेरिकाले सैन्य कारबाही तीव्र पार्ने क्रम बढेपछि यस क्षेत्रको सुरक्षा स्थिति अत्यन्तै नाजुक बनेको छ।
इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अलीसहित संयुक्त अरब इमिरेट्स (यूएई) का अन्य दुई बन्दरगाह खाली गर्न चेतावनी दिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकाले यूएईका दुई स्थानबाट खर्ग र अबु मुसा टापुमा आक्रमण गरेको दाबी गर्नुभएको छ। यद्यपि, उहाँको यो दाबीको कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन। यता, यूएईका अधिकारीहरूले आफ्नो राष्ट्रको सुरक्षा सुनिश्चित गर्ने अधिकार आफूमा निहित रहेको बताउँदै वर्तमान परिस्थितिमा संयमता अपनाउने प्रतिबद्धता दोहोर्याएका छन्।
इरानी सैन्य कमान्डले अमेरिका वा उसका सहयोगी राष्ट्रले इरानको तेल पूर्वाधारमाथि आक्रमण गरे त्यसको कडा प्रतिशोध लिने चेतावनी दिएको छ।
यद्यपि, अमेरिकाले खर्ग टापुमा गरेको पछिल्लो आक्रमणमा नौसैनिक बारुद तथा क्षेप्यास्त्र भण्डारण र अन्य सैन्य संरचनाहरू मात्र नष्ट गरिएको जनाएको छ। अमेरिकी अधिकारीहरूले इरानका तेल पूर्वाधारहरू पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन्।
मध्यपूर्वको बढ्दो युद्धले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिको चिन्ता बढाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको प्रमुख तेल आपूर्ति मार्ग ‘होर्मुज जलडमरूमध्य’ सुरक्षित राख्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ।
उहाँले विशेषगरी चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायतका राष्ट्रहरूलाई यस क्षेत्रमा आफ्ना युद्धपोत पठाएर जलमार्ग खुला राख्न आह्वान गर्नुभएको हो।