इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा २० जना पक्राउ, देशव्यापी धरपकड तीव्र
एजेन्सी, १ चैत्र । इरानी सुरक्षा अधिकारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रबाट इजरायलका लागि जासुसी गरेको आरोपमा कम्तीमा २० जनालाई पक्राउ गरेका छन्। पक्राउ परेकाहरूले इरानको सैन्य, कानुनी र सुरक्षासम्बन्धी अति गोप्य विवरण इजरायली पक्षलाई उपलब्ध गराएको दाबी गरिएको छ।
पश्चिम अजरबैजान प्रान्तमा जासुसी सञ्जालविरुद्ध गरिएको व्यापक छापामारीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रान्तीय अभियोजक होसेन माजिदीका अनुसार पक्राउ परेका व्यक्तिहरूले देशको राष्ट्रिय सुरक्षा र गोप्य सूचनामाथि छेडछाड गर्दै विदेशी एजेन्सीलाई सघाएको अनुसन्धानबाट पुष्टि भएको छ।
पछिल्लो समय इरानी अधिकारीहरूले देशभर जासुसीविरुद्धको छानबिन र धरपकडलाई निकै तीव्र पारेका छन्। इजरायल र अन्य विदेशी शक्तिहरूसँग मिलेमतो गरेको तथा सूचना चुहाएको आशङ्कामा हालसालै मात्र सयौँ व्यक्तिलाई गिरफ्तार गरिएको इरानी प्रशासनले जनाएको छ।
यो धरपकड गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणपछि चर्किएको मध्यपूर्व सङ्घर्षकै एक कडी भएको बताइएको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले विदेशी जासुस र घुसपैठविरुद्ध आन्तरिक सुरक्षालाई उच्च सतर्कतामा राख्दै कडा प्रतिकारको नीति लिएको छ। त्यसैको परिणामस्वरुप अहिले देशभर जासुसहरूको खोजी अभियान चलाइएको हो।