काठमाडौंमा स्रोत नखुलेको साढे १० लाख बढी नगदसहित दुई जना पक्राउ

काठमाडौं, १ चैत्र । काठमाडौंको जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्दै आएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट स्रोत खुलाउन नसकेको १० लाख ६३ हजार ८४० रुपैयाँ बरामद गरिएको छ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–१ अन्तर्गत हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शङ्कास्पद अवस्थामा रोकेर जाँच गर्दा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ।

नगद र स्कुटरसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अगाडि बढाएको छ।