झापामा हुरीले केराखेती सखापः किसानलाई दोहोरो मार, १६ लाखको क्षति

झापा, १ चैत्र । तीन दिनदेखि लगातार चलेको हुरीका कारण झापा गाउँपालिका–७ मा एक किसानले लगाएको केराखेती पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय किसान चन्द्र बस्नेतले दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केराखेती हुरीले सखाप पारेको हो।

कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार, हुरीले भाँचिएका सबै केराघरी पाक्न लागेका थिए। बस्नेतले कुल ३० बिघा जमिनमा केराखेती गर्दै आउनुभएकोमा त्यसमध्ये घरी लागेका २ बिघा जमिनका ३ हजार २०० बोट केरा नष्ट भएको छ। यसबाट किसानलाई करिब १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको आचार्यले जानकारी दिनुभयो।

लगातार प्राकृतिक विपत्तिको चपेटामा परिरहेका किसान बस्नेतले आफूलाई पटक–पटक मार परेको बताउनुभयो। यसअघि गत असोज १८ र १९ गते आएको अविरल वर्षा र बाढीले उहाँको करिब एक करोड रुपैयाँ बराबरको केराखेती नष्ट गरेको थियो।

“बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, तर फेरि हुरीले सखाप पारिदियो,” निराश हुँदै बस्नेतले भन्नुभयो, “अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को विपत्ति आइलाग्यो। प्रकृतिको प्रकोप पनि मलाई मात्र आउँछ कि जस्तो लाग्न थाल्यो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *