भारतविरुद्धको पहिलो टेस्टमा इङगल्यान्ड विजयी

लिड्स, असार ११ गते । इङगल्यान्डले मङगलबार राति ३७१ रनको लक्ष्य पछ्याएर भारतलाई पहिलो टेस्टमा पाँच विकेटले हराएको छ । यस नतिजासँगै पाँच खेलको शृङ्खलामा आयोजक इङगल्यान्डले १–० ले अग्रता बनायो । इङगल्यान्डले विशाल लक्ष्य पूरा गर्दा अन्तिम दिनको खेलमा १४ ओभर बाँकी नै थियो ।

इङगल्यान्डको यो जित टेस्ट क्रिकेट इतिहासमा सबभन्दा धेरै रन पछ्याएको सूचीमा दशौँ स्थानमा छ । प्रारम्भिक ब्याट्सम्यानद्वय बेन डेकेट र ज्याक क्रलीले पहिलो विकेटका लागि १८८ रनको साझेदारी निर्वाह गरेपछि पनि इङगल्यान्डलाई जित सहज बन्यो ।

डकेटले २१ चौकासहित १७० बलमा १४९ रन बनाएपछि इङगल्यान्डलाई रन रेटको पनि दबाब परेन । क्रलीले ६५ रनको पालि खेले । यसैगरी तेज बलरद्व प्रसिद्ध कृष्ण र शार्दुल ठाकुरले फटाफट दुई–दुई विकेट लिएर भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर जोय रुटले अविजित ५३ र जेमी स्मिथले तेज गतिमा अविजित ४४ रन बनाएर इङगल्यान्डलाई खेल जिताए ।

यसअघि, पहिलो पालिमा भारतले ४७१ रन बनाएको थियो । इङगल्यान्डको पहिलो पालि जवाफमा ४६५ रनमा सकिएको थियो । त्यसपछि भारतले दोस्रोपालिमा ३६४ रन बनाएपछि इङगल्यान्डले ३७१ रनको लक्ष्य पाएको थियो । इङगल्यान्डले पाँच विकेटको क्षतिमा ३७३ रन बनाए । एजेन्सी

 

तस्बिर साभारः एपी