महिला कबड्डीमा थाइल्यान्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, ६ असोज । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

जापानको टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको समूह चरणको खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा नेपाल १५–२४ अङ्कले पछि परेको थियो । दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गर्दै नेपालले ३१–१९ अङ्कको अग्रता बनायो । दोस्रो हाफमा गरेको प्रभावशाली प्रदर्शनसँगै नेपालले समग्रमा ४६–४३ अङ्कको जित निकाल्न सफल भयो ।

एसियाली खेलकुदमा नेपालले अपेक्षा गरिएका खेलमा सोचेअनुसारको नतिजा निकाल्न नसकिरहेका बेला महिला कबड्डी टोलीको यो जित महत्वपूर्ण बनेको छ ।

यसअघि १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाएको थियो ।

जारी प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । उक्त समूहमा नेपालसँगै थाइल्यान्ड, श्रीलङ्का र चाइनिज ताइपे रहेका छन् । नेपालले लिग चरणमा अब श्रीलङ्का र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, समूह ‘ए’मा इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *