राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य नेवा देय् दबूद्वारा सम्मानित
राष्ट्रिय सभा सदस्य डा। अन्जान शाक्य नेवा देय् दबूद्वारा सम्मानित
काठमाडौं, १४ असार । नेवार समुदायको राष्ट्रिय संगठन नेवा देय् दबूले राष्ट्रिय सभा सदस्य तथा पूर्व राजदूत डा. अन्जान शाक्यलाई एक विशेष समारोहबीच सम्मान गरेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक प्रतिष्ठा र पहिचान उच्च राख्न पुर्याउनुभएको अतुलनीय योगदान तथा राष्ट्रिय जीवनमा दिनुभएको महत्वपूर्ण सेवाको कदरस्वरूप डा. शाक्यलाई सम्मान गरिएको दबूका अध्यक्ष पवित्र बज्राचार्य ले बताउनु भयो।
कार्यक्रममा बोल्दै नेवा देय् दबूका अध्यक्ष बज्राचार्यले डा. शाक्य राष्ट्रकै गौरव भएको बताउनुभयो। यस्तै विशिष्ट अतिथि तथा नेवा समुदायको नेतृत्व गर्दै आउनु भएका लेखक तथा विद्धान मल्ल के सुन्दरले पनि भन्नुभयो, डा. अन्जान शाक्य हाम्रो समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँले इजरायलका लागि नेपाली राजदूतको रुपमा रहँदा होस् वा हाल राष्ट्रिय सभा सदस्यको भूमिकामा, सधैं नेपाल र नेपालीको शिर उच्च राख्ने काम गर्नुभएको छ। उहाँको यही निस्वार्थ सेवा र योगदानको कदर गर्न पाउँदा हामी गौरवान्वित छौं।
सम्मान ग्रहण गर्दै राष्ट्रिय सभा सदस्य डा. शाक्यले आफ्नो समुदायको राष्ट्रिय संगठनबाट प्राप्त सम्मानले आफूलाई थप ऊर्जा र जिम्मेवारी बोध भएको बताउनुभयो। उहाँले भन्नुभयो, आफ्नै घरबाट पाएको यो माया र सम्मान मेरा लागि सबैभन्दा ठूलो सम्पत्ति हो। मैले जे जति गरेँ, त्यो देशप्रतिको कर्तव्य सम्झेर गरेँ। यो सम्मानले मलाई भविष्यमा देश र जनताको सेवामा थप क्रियाशील रहन प्रेरणा दिएको छ।ू उहाँले नेपालको भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
डा. शाक्यले इजरायलका लागि नेपाली राजदूतको रुपमा आफ्नो कार्यकालमा नेपाल-इजरायल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै कृषि, प्रविधि र रोजगारीका क्षेत्रमा महत्वपूर्ण सहकार्यको सुरुवात गर्नुभएको थियो। हाल राष्ट्रिय सभा सदस्यको रुपमा उहाँ राष्ट्रिय नीति निर्माण र कूटनीतिक मामिलामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पनि अन्तराष्ट्रिय मञ्चले ग्लोबल योंग लिडरका रुपमा सम्मान गरेको र उपमेयर भएर काठमाडौको भाषा जाति संस्कृति सम्पदा तथा यहााको स्थानीय विकासमा उल्ल्ेखनीय योगदान पुर्याएको हुनाले सम्मान गरेको नेवा देय् दबुले जानकारी दिएको छ ।
कार्यक्रममा नेवा देय् दबूका पदाधिकारीहरू, सदस्यहरू तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व र समाजसेवीहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले डा. शाक्यजस्ता व्यक्तित्वहरू राष्ट्रका गहना भएको र उहाँहरूको योगदानको उचित सम्मान हुनुपर्ने धारणा राखेका थिए। यो सम्मानले देशका लागि योगदान पुर्याउने अन्य व्यक्तित्वहरूलाई समेत प्रोत्साहन मिल्ने विश्वास आयोजकले लिएको छ।