सिलिकन भ्यालीलाई चुनौती दिँदै टोरन्टो: विश्वको नयाँ ‘एआई हब’ बन्ने दौडमा
टोरन्टो । प्रविधिको क्षेत्रमा ‘सिलिकन भ्याली’ लाई विश्वको मुटु मानिन्छ। तर, पछिल्लो समय क्यानडाको टोरन्टो सहर आर्टिफिसियल इन्टेलिजेन्स (AI) को यस्तो केन्द्रका रूपमा उदाएको छ, जसको कल्पना धेरैले गरेका थिएनन्। एआईका पिता मानिने नोबेल पुरस्कार विजेता कम्प्युटर वैज्ञानिक जेफ्री हिन्टनको ४० वर्ष लामो मेहेनतले आज टोरन्टोको अनुहार नै बदलिदिएको छ।
सन् १९८० को दशकमा अमेरिकाको कार्नेगी मेलन विश्वविद्यालयको प्रतिष्ठित जागिर छोडेर हिन्टन टोरन्टो विश्वविद्यालयमा ‘मेसिन लर्निङ’ को अनुसन्धान गर्न आएका थिए। त्यतिबेला कमैले रुचाएको त्यो विषय नै आजको आधुनिक एआई प्रणालीको आधार बनेको छ।
दिग्गज कम्पनीहरूको आकर्षण
अहिले टोरन्टोमा गुगल, एनभिडिया, मेटा र माइक्रोसफ्ट जस्ता विश्वका शक्तिशाली प्रविधि कम्पनीहरूले आफ्ना अनुसन्धान प्रयोगशालाहरू खोलेका छन्। प्रविधि बाहेकका अन्य क्षेत्रका कम्पनीहरू पनि यहाँको एआई विशेषज्ञताबाट प्रभावित छन्। औषधि उत्पादक कम्पनी ‘सानोफी’ ले हालै टोरन्टोमा एआई सेन्टर स्थापना गर्न करिब ३०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ।
व्यावसायिक घरानीया ‘सीबीआरई’ (CBRE) को वार्षिक प्रतिवेदन अनुसार, टोरन्टो अहिले न्यूयोर्कलाई पछि पार्दै विश्वकै तेस्रो ठूलो ‘टेक ट्यालेन्ट मार्केट’ बनेको छ। यो सूचीमा सान फ्रान्सिस्को र सियाटल मात्र टोरन्टोभन्दा अगाडि छन्।
क्यानडाको रणनीतिक सफलता
क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले एआई क्षेत्रको अनुसन्धान, शिक्षा र यसको प्रयोग बढाउन २ अर्ब डलरभन्दा बढीको राष्ट्रिय रणनीति अघि सार्नुभएको छ। विशेषगरी अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावका बीच क्यानडाले आफ्नै प्रविधि विकासमा जोड दिनुलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
“क्यानडाले सबै प्रविधि अमेरिका वा चीनबाट मात्र आयात गर्न सक्दैन, हामी आफैँ सक्षम हुनुपर्छ,” जेफ्री हिन्टनले सीएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो।
किन रोजिँदैछ टोरन्टो?
सिलिकन भ्यालीको तुलनामा टोरन्टोमा बस्ने लागत कम हुनु, सार्वजनिक स्वास्थ्य सेवा र राम्रो विद्यालय हुनुलाई यहाँका उद्यमीहरूले मुख्य कारण मानेका छन्। अर्को महत्त्वपूर्ण पक्ष क्यानडाको उदार अध्यागमन नीति हो। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनको कडा भिसा नीतिका कारण दक्ष कामदारहरू क्यानडा पलायन भइरहेका छन्। टोरन्टोमा कामदारहरूले जागिर परिवर्तन गर्ने दर (Staff Turnover) पनि सिलिकन भ्यालीको तुलनामा निकै कम छ।
यस्तै, टोरन्टोमा स्थापना भएको एआई कम्पनी ‘कोहियर’ (Cohere) अहिले ७ अर्ब डलरको कम्पनी बनेको छ भने ‘वाबी’ (Waabi) नामको ड्राइभररहित ट्रक कम्पनीले हालै १ अर्ब डलरभन्दा बढीको लगानी जुटाएको छ, जुन क्यानडाको इतिहासकै ठूलो लगानी हो।
भविष्यको सम्भावना
क्यानडाको डिजिटल क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादन (GDP) मा १४० अर्ब डलरभन्दा बढीको योगदान पुर्याइरहेको छ। एआई क्षेत्रको विकासले रोजगारी गुम्न सक्ने चिन्ता रहे पनि यसबाट हुने नाफा क्यानडामै रहने र त्यसले विस्थापित कामदारलाई सहयोग पुग्ने हिन्टनको विश्वास छ।
विश्वका धेरै देशहरू अहिले प्रविधिका लागि अमेरिकामा मात्र निर्भर हुन चाहँदैनन्। यस्तो अवस्थामा क्यानडाको “भरोसायोग्य झण्डा” र स्वतन्त्र प्रविधि धेरैका लागि आकर्षक विकल्प बनेको छ। टोरन्टो अब एउटा सहर मात्र नभएर विश्वको एआई भविष्य निर्धारण गर्ने थलो बन्दै गएको छ।