टास्मानियन टाइगरबारे नयाँ खुलासा: भेडा मार्ने ‘हिंस्रक’ नभई साना जीवको शिकारी भएको पुष्टि

 

सिड्नी ।  करिब एक शताब्दीअघि अस्ट्रेलियाबाट लोप भएको ‘टास्मानियन टाइगर’ का बारेमा वर्षौँदेखि कायम एउटा भ्रम नयाँ अनुसन्धानले चिरेको छ। वैज्ञानिकहरूका अनुसार यो जनावर पहिले सोचिए जस्तो घरपालुवा जनावर (चौपाया) का लागि खतरनाक थिएन।

‘नेचर कम्युनिकेसन’ जर्नलमा सोमबार प्रकाशित एक अध्ययनका अनुसार टास्मानियन टाइगरको खप्परको बनावट अन्य कुनै पनि जीवित स्तनधारी जीवसँग मिल्दैन। यसको शारीरिक बनावट ब्वाँसोसँग मिल्दोजुल्दो भएकाले यसलाई ‘साइनोसेफालस’ (कुकुरको टाउको भएको) नाम दिइएको थियो। यही समानताका कारण बेलायती उपनिवेशवादीहरूले यसलाई भेडा-बाख्रा मार्ने हिंस्रक जीव ठानेर यसको शिकार गरे र अन्ततः यो प्रजाति नै पृथ्वीबाट लोप भयो।

ब्वाँसो जस्तो देखिए पनि कंगारुको नजिक
अनुसन्धानकर्ता डा. भेरा वाइसबेकरका अनुसार टास्मानियन टाइगर वास्तवमा ब्वाँसो वा कुकुर प्रजाति भन्दा कंगारुसँग बढी नजिक थियो। “यो एउटा मार्सुपियल (बच्चालाई थैलीमा राख्ने) जीव थियो, जसका पुर्खाहरू डाइनोसर लोप हुनुभन्दा धेरै अघि नै अन्य स्तनधारीबाट अलग भइसकेका थिए,” उहाँले भन्नुभयो।

अध्ययनले के देखाएको छ भने यसको खप्पर ब्वाँसोको जत्रो भए पनि यसको थुतुनो लामो र संवेदनशील थियो। यसको बङ्गारा र दाँतको बनावटले यो ठूला चौपाया भन्दा पनि खरायो जस्ता साना जनावरको शिकार गर्नका लागि अनुकूल रहेको पुष्टि गर्दछ।

भ्रमका कारण लोप भएको प्रजाति
सन् १८०० को दशकमा अस्ट्रेलियाको टास्मानिया टापुमा बसोबास गर्न थालेका मानिसहरूले आफ्नो भेडा-बाख्रा हराउनुमा यसैलाई दोष दिएका थिए। वास्तवमा ती चौपायाहरू जंगली कुकुर र मानिसको व्यवस्थापकीय कमजोरीका कारण मरेका थिए। तर, सरकारले टास्मानियन टाइगर मार्नेलाई पुरस्कार) नै तोकेपछि यसको व्यापक संहार भयो।

संसारको अन्तिम टास्मानियन टाइगर सन् १९३६ मा टास्मानियाको ‘बेउमारिस चिडियाखाना’ मा मरेको थियो। सरकारले यसलाई ‘संरक्षित प्रजाति’ घोषणा गरेको केही समयमै यसको अन्तिम सदस्यको पनि मृत्यु भएको थियो।

पुनर्जीवित गर्ने प्रयास 
अहिले वैज्ञानिकहरूले आनुवंशिक प्रविधि  र ‘प्राचीन डीएनए’ को प्रयोग गरेर यो लोप भइसकेको प्रजातिलाई फेरि ‘ब्युँताउने’ प्रयास गरिरहेका छन्। मेलबर्न विश्वविद्यालय र ‘कोलोसल बायोसाइन्सेस’ ले यसलाई पुनर्जीवित गर्ने परियोजनामा काम गरिरहेका छन्।

यस अनुसन्धानले लोप भइसकेका प्रजातिहरूको बारेमा हाम्रा पुराना बुझाइ कति गलत हुन सक्छन् र जैविक विविधताको संरक्षण किन आवश्यक छ भन्ने कुरालाई पुनः उजागर गरेको छ। टास्मानियन टाइगरको खप्परको यो नयाँ विश्लेषणले यसलाई ‘भेडा मार्ने हिंस्रक जनावर’ को कलंकबाट मुक्त गरिदिएको छ।