भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तकाे शव नभेटिएपछि कुशको प्रतीक बनाएर अन्त्येष्टि
काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरू जीवितै भेटिने आशा टरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढी आएको १० दिन बितिसक्दा पनि आफ्ना प्रियजनको कुनै अत्तोपत्तो नलागेपछि हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि सुरु गरिएको हो।
पशुपतिस्थित घाट सेवा कार्यालयका अनुसार शुक्रबार मात्रै ७ जना बेपत्ता व्यक्तिको कुशको प्रतीक बनाएर अन्त्येष्टि गरिएको छ। बाढीले बगाएका कतिपयको शव फेला नपरेका कारण मृत्युको औपचारिक पुष्टि हुन नसके पनि धार्मिक संस्कार पूरा गर्न परिवारजनले यो बाटो रोजेका हुन्।
सिन्धुपाल्चोकका बद्रीकुमार दर्जीले आफ्ना ३६ वर्षीय आफन्त राजकुमार दर्जीको शुक्रबार कुशको शव बनाएर अन्तिम बिदाइ गर्नुभयो। “राजकुमार बेपत्ता भएको आज १० दिन भयो, कतै भेटिने छाँटकाँट देखिएन,” उहाँले भावुक हुँदै भन्नुभयो, “अन्तिम अवस्थामा अनुहार देख्न नपाए पनि धार्मिक विधिअनुसार संस्कार गरेर मन बुझाउन खोजेका हौँ।”
पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये हालसम्म १६ जनाको वास्तविक शव पशुपतिमा अन्त्येष्टि भइसकेको छ। पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको दाहसंस्कारका लागि निःशुल्क व्यवस्था मिलाएको छ।
गत भदौ १० गतेको अचानकको भीषण बाढीले रसुवा र नुवाकोटमा ठुलो मानवीय र भौतिक क्षति पुर्याएको थियो। अझै पनि सयौँ मानिस बेपत्ता छन् भने सुरक्षा निकायले खोजी तथा उद्धार कार्य जारी राखेको छ। शव प्राप्त नहुँदा र समय घर्कँदै जाँदा पीडित परिवारहरूमा गहिरो शोक र अन्योल छाएको छ, जसका कारण प्रतीकात्मक अन्त्येष्टि गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ।