सशस्त्र प्रहरीमा ठूलो संख्यामा बढुवा, २१९६ जवान तथा अधिकृतसम्म पदोन्नती

काठमाडौं, १६ असार । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक महिनाको अवधिमा २,१९६ जनालाई विभिन्न पदमा बढुवा गरेको छ । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) देखि सहायक हवल्दारसम्मका पदहरूमा भएको यो बढुवा सशस्त्र प्रहरी बलको इतिहासमा एकैपटक भएको ठूलो संख्याको पदोन्नति हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार, बढुवा हुनेहरूमा ११ जना वरिष्ठ सई, ३४ जना नायव निरीक्षक (सई) तथा लेखा उपसमूहतर्फ ६ जना सई रहेका छन् । त्यसैगरी, जवानतर्फ ६०३ जना वरिष्ठ हवल्दार, ७५९ जना हवल्दार र ७८३ जना सहायक हवल्दारमा पदोन्नति भएका छन् ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाले संगठनभित्रका कर्मचारीको मनोबल उच्च बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

बढुवा प्रक्रियालाई तीव्रता दिन मुख्यालयले गत जेठ १९ गते सूचना जारी गरेको थियो । सूचनाअनुसार, वरिष्ठ सई र सई पदका लागि योग्य उम्मेदवारलाई १० दिनभित्र र वरिष्ठ हवल्दार, हवल्दार तथा सहायक हवल्दार पदका लागि १५ दिनभित्र बढुवा फाराम भर्न आह्वान गरिएको थियो । उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता र आवश्यक प्रमाणपत्रका प्रतिलिपिहरू बढुवा समितिको सचिवालयमा पेश गरेका थिए ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले अन्य खाली रहेका पदहरूमा पनि तत्कालै बढुवा प्रक्रिया सुरु गरिने जानकारी दिनुभएको छ ।