युएईलाई ४४ रनले पराजित गर्दै नेपाल दोस्रोपटक एसिसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा स्थान सुनिश्चित
काठमाडौं, २७ भदौ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि हात पारेको हो।
यस जीतसँगै नेपाली टोली सन् २०२७ मा बंगलादेशमा हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ। यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराएरै एसिया कपमा स्थान बनाएको थियो, यसरी नेपालले लगातार दोस्रोपटक एसिया कपको टिकट काटेको छ। गत संस्करणको च्याम्पियन युएई भने यसपालि एसिया कप २०२७ मा स्थान बनाउनबाट वञ्चित भएको छ।
फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउँदै युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो। युएईका लागि राहुल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रनको योगदान दिए। नेपालको बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक-एक विकेट लिए।
यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको शतकीय पारी खेलेका थिए, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको दोस्रो शतक हो। गुलशनकुमार झाले पनि ३८ बलमा ४ छक्का र ३ चौकाको सहायताले ५२ रनको अर्धशतकीय पारी खेलेका थिए, जुन उनको छैटौं एकदिवसीय अर्धशतक हो। यसैगरी अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अपराजित १५ र ईशान पाण्डेले १३ रनको योगदान दिएका थिए। युएईको बलिङतर्फ इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र अबिद उस्मानीले एक-एक विकेट लिएका थिए।
