धनकुटाको निसान मन्दिरको महाघण्टी : पुराना घण्टीको संरक्षणसँगै बनेको पर्यटकीय आकर्षण

धनकुटा, २७ भदौ । धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। निसान मन्दिर पुग्ने मात्र नभई धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेरै फर्कने गर्छन्।

साना-साना घण्टीलाई जोडेर बनाइएको यस ‘महाघण्टी’मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन्। यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए।

“निसान मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो। मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती हटाउने तयारी गरिएको थियो। तर घण्टी हटाउँदा ऐतिहासिक महत्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था देखिएपछि तिनको संरक्षणका लागि महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो,” सचिव घिमिरेले भने। उनका अनुसार यस महाघण्टीमा विसं १९३१ भन्दा अघिदेखिका घण्टी समेत संग्रहित रहेका छन्।

महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण गर्नुका साथै मन्दिरको सौन्दर्य र पहिचानमा समेत थप गरेको घिमिरेले बताए। सुरुमा घण्टी व्यवस्थापनकै समस्या समाधान गर्न थालिएको यो कार्य अहिले सबैका लागि आकर्षक केन्द्र बनी मन्दिरको शोभा बढाउने माध्यम बनेको उनको भनाइ छ।

“साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्य समेत बनेको छ,” उनले थपे।

धनकुटाको निसान मन्दिरको इतिहास पूर्वी नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग गाँसिएको छ। विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जंगी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ। मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ र त्यहाँ सेनाकै एक पुजारी खटिने व्यवस्था रहेको छ। धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको निसान मन्दिर परिसरमा बनेको यस महाघण्टीले पुराना घण्टीको संरक्षण मात्र नभई मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षण समेत बढाएको छ।