नारायणगढ–बुटवल सडक: पटक-पटक म्याद थप्दा पनि प्रगति सुस्त, ६९ प्रतिशत काम मात्रै सम्पन्न
नवलपरासी, १८ असार । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले अझै गति लिन सकेको छैन। तेस्रो पटक थपिएको म्याद सकिन केही समय मात्र बाँकी रहँदा आयोजनाको समग्र भौतिक प्रगति जम्मा ६९ प्रतिशतमा सीमित छ। निर्माणको सुस्त गतिपछि आयोजनाले चौथो पटक म्याद थपको तयारी गरेको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको यो आयोजना २०७५ माघमा सुरु भई २०७९ साउन २२ मा सम्पन्न हुनुपर्ने थियो। तर, निर्धारित समयमा काम नसकिएपछि पटक-पटक म्याद थपिएको हो। हालको म्याद पनि आगामी साउन ८ गते सकिँदैछ। निर्माण कम्पनीले थप ५७६ दिनको समय माग गरे पनि आयोजनाले करिब एक वर्षका लागि म्याद थप गर्ने तयारी गरेको नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो।
वर्षायाममा यात्रुहरूका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको दुम्कीबासस्थित विनय खोलाको डाइभर्सनको समस्या अब हट्ने भएको छ। गत पुसमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन पटक-पटक बाढीले बगाउँदा यातायात अवरुद्ध हुँदै आएको थियो।
आयोजनाले भाँचिएको पुलको छेउमा नयाँ पक्की पुल निर्माण सम्पन्न गरेको छ। मौसमले साथ दिएमा बुधबारसम्म कालोपत्र गरी ढिलोमा आगामी शनिबारदेखि उक्त पुल सञ्चालनमा ल्याइने सूचना अधिकारी खनालले बताउनुभयो। यो पुल सञ्चालनमा आएसँगै डाइभर्सनमा घण्टौँ कुर्नुपर्ने बाध्यता अन्त्य हुनेछ।
आयोजनाको सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिने दाउन्नेमा वर्षायामभरि यातायात सहज बनाउन मर्मतमा केन्द्रित हुने योजना छ। पानी पर्नेबित्तिकै सडक चिप्लो हुने र घण्टौँ जाम हुने समस्या समाधान गर्न अब त्यहाँ नयाँ निर्माणको काम रोकिनेछ।
सूचना अधिकारी खनालका अनुसार, “दाउन्ने खण्डमा ग्राभेल राखेर नियमित मर्मत गरिनेछ ताकि पानी पर्दा पनि यातायात नरोकियोस्। हाम्रो ध्यान अब निर्माणभन्दा पनि मर्मतसम्भारमार्फत सडक सञ्चालनमा राख्नु हुनेछ।”
आयोजनाको अवस्था
आयोजनामा भएको चरम ढिलाइका कारण यात्रुहरूले वर्षौंदेखि धुलो, हिलो र जामको सास्ती भोग्दै आएका छन्। यद्यपि, पछिल्लो समय कामले केही गति लिएको र यात्रामा आंशिक सहजता थपिएको छ।