ओल्के पर्व : प्रकृतिप्रति कृतज्ञता र सम्बन्धमा मधुरता

काठमाडौँ, भदौ १ । जब भदौको चादनीसँगै सुदूरपश्चिमका पाखा पखेरामा नयाँ फलफूल लटरम्म फल्न थाल्छन् र खेतबारीमा हरियाली छाउँछ, तब यहाँका बस्तीहरूमा एउटा भिन्नै सुगन्ध फैलन्छ, ‘ओल्के’ को सुगन्ध ।

आज भदौ १ गते, अर्थात् भदौ सङ्क्रान्ति । सुदूरपश्चिम प्रदेशले आफ्नो जीवन्त परम्परा ‘ओल्के पर्व’ हर्षोल्लासका साथ मनाउँदैछ। यो केवल एउटा तिथि मात्र होइन, यो त प्रकृति, देउता र आफन्तबीचको सम्बन्धलाई नवीकरण गर्ने एउटा कडी हो ।

के हो ‘ओल्को’ ?

स्थानीय भाषामा ‘ओल्को’ को अर्थ हुन्छ, कोसेली वा उपहार। सुदूरपश्चिमको लोकसंस्कृतिका जानकार कविराज भट्टका अनुसार, आफूले मिहिनेत गरेर फलाएको नयाँ अन्न र फलफूल सबैभन्दा पहिले भगवानलाई अर्पण गर्ने र त्यसपछि मान्यजनलाई उपहारका रूपमा दिने परम्परा नै ‘ओल्के’ हो ।

यो पर्वमा नवविवाहित जोडीहरूको एउटा छुट्टै रमाइलो पक्ष छ । साउन महिनाभरि माइती बसेकी दुलहीलाई लिन दुलाहा पक्ष ‘ओल्को’ (फलफूल र कोसेली) लिएर माइतीघर पुग्छन् । यसले दुई परिवारबीचको सामीप्यतालाई थप प्रगाढ बनाउँछ ।

‘बूढी’ गाड्ने रोचक परम्परा

ओल्के पर्वको अर्को विशेष र रोचक पक्ष हो, ‘बूढी’ गाड्नु । गाउँ नजिकैको सार्वजनिक ठाउँमा सबै मिलेर जङ्गली झाडी सफा गर्छन् र त्यहाँ एउटा ठूलो लिङ्गो वा सल्लाको रूखको आकृति बनाएर गाड्छन् ।

लोकसंस्कृतिका जानकार विशनदेव जोशी भन्छन्, “आज गाडिएको यो ‘बूढी’ लाई असोजमा पोल्ने (जलाउने) चलन छ । यसले समाजबाट नकारात्मक ऊर्जा, रोगव्याधि र सङ्कटको अन्त्य हुने जनविश्वास रहेको छ ।” साँझपख युवादेखि वृद्धसम्म एकै ठाउँमा भेला भएर डेउडा, चैत र धुमारी खेल्दा गाउँबस्ती साङ्गीतिक माहोलमा झुम्ने गर्छन् ।

भगवानप्रतिको अटुट भरोसा

सुदूरपश्चिमको कृषि प्रधान समाजमा अन्नलाई भगवानको प्रसाद मानिन्छ । “पहिला अहिलेको जस्तो औषधि वा विषादी थिएन, सबै भगवानकै भरोसा हुन्थ्यो,” जानकार जानकी अवस्थी सम्झनुहुन्छ । खेतमा लगाएको धान, फलफूल र तरकारी सकुशल घर भित्र्याउन पाइएकोमा भगवानलाई धन्यवाद दिनु नै यो पर्वको मुख्य उद्देश्य हो  ।

फेरिँदो समय र मौलिकताको रक्षा

हिजोआज प्रविधि र आधुनिकताको लहरले धेरै कुरा परिवर्तन गरिदिएको छ। मानिसहरू व्यस्त छन्, सम्बन्धहरू फेसबुक र म्यासेन्जरमा खुम्चिएका छन्। यस्तो अवस्थामा ओल्के पर्वले मानिसलाई प्रत्यक्ष भेटघाट गर्न र आत्मीयता साट्न प्रेरित गरिरहेको साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ बताउनुहुन्छ ।

ओल्के सकिएसँगै सुदूरपश्चिममा महान् पर्व ‘गौरा’ को चहलपहल सुरु हुन्छ। नयाँ लुगा फेर्ने, मीठो मसिनो खाने र डेउडाको तालमा झुम्ने यो क्रम अब गौरासम्म निरन्तर चल्नेछ ।

सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएर यो मौलिक पर्वको सम्मान गरेको छ । प्रकृति र मानव सभ्यताको यो सुन्दर सङ्गम ‘ओल्के’ ले हामीलाई आफ्ना पुर्खा, माटो र सम्बन्धको महत्त्व फेरि एकपटक सम्झाइदिएको छ ।