खपटे र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै : बाँके र बर्दियाका किसान चिन्तित
काठमाडौँ, भदौ १ । बाँके र बर्दियाका व्यावसायिक मौरीपालक किसानहरू खपटे कीरा र सिलसाको सङ्क्रमणका कारण चिन्तित बनेका छन् । मह उत्पादनका लागि पालिएका मौरीको घारभित्रै छिरेर यी कीराले मौरीको आहारा, फूल र लार्भा नष्ट गरिदिएपछि मौरीका घारहरू रित्तिने अवस्थामा पुगेका हुन् ।
कोहलपुरका मौरीपालक किसान पुरमल बस्नेतका अनुसार हाल मौरीपालन क्षेत्रमा ‘सङ्कटकाल’ जस्तै अवस्था सिर्जना भएको छ । “एकातिर बाहिर निस्कँदा चराको आक्रमणको डर छ भने अर्कोतिर घारभित्रै खपटे कीराले क्षति पुर्याइरहेको छ,” बस्नेतले भन्नुभयो, “मौरीको आहारा र लार्भा नै सखाप भएपछि मौरी जोगाउनै कठिन भएको छ ।”
बर्दिया बढैयाताल गाउँपालिकाका अर्का किसान घनश्याम खत्रीले विगत दुई महिनादेखि यो समस्या तीव्र रूपमा देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार १० वटा ‘फ्रेम’ भएको एउटा घारमा अहिले दुईदेखि तीनवटा फ्रेम खाली भइसकेका छन् । सङ्क्रमण नियन्त्रणका लागि घरेलु विधिहरू अपनाइए पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
सोही क्षेत्रका अर्का व्यवसायी सिंहबहादुर शाहीले यसअघिका वर्षहरूमा यस्तो खालको गम्भीर सङ्क्रमण कहिल्यै नदेखिएको बताउनुभयो । उहाँले सङ्क्रमण तत्काल नरोकिए आफ्नो डेढ सय घारमध्ये एक सय घार जोगाउन पनि मुस्किल पर्ने चिन्ता व्यक्त गर्नुभयो ।
बाँके र बर्दियाका किसानहरूले चरिचरनका लागि आफ्ना मौरीका घारहरू दाङ जिल्लासम्म लैजाने गरेका छन् । हाल अधिकांश किसानका मौरीका घारहरू दाङमै रहेका र त्यहीँ नै खपटे र सिलसा कीराको प्रकोप बढी देखिएको किसानहरूको भनाइ छ ।
वर्षायाममा प्राकृतिक रूपमै आहाराको कमी हुने समयमा यस्तो सङ्क्रमण फैलिएपछि ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्ने अवस्था आएको भन्दै किसानहरूले सरोकारवाला निकायसँग प्राविधिक सहयोग र समाधानका लागि आग्रह गरेका छन् ।