बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

हेटौंडा, २३ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेशसभा बैठकले सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले राख्नुभएको प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको पक्षमा सत्तापक्षका सांसदले ‘हुन्छ’ र विपक्षमा प्रतिपक्षी सांसदले ‘हुन्न’ भनेका थिए । ‘हुन्छ’ भन्ने पक्षमा बहुमत पुगेपछि सभामुख पाठकले बजेट पारित भएको घोषणा गर्नुभयो ।

यससँगै प्रतिपक्षी दलको मागअनुसार ल्याइएको पूरक प्रस्ताव र केही सांसदले दर्ता गराउनुभएको खर्च कटौतीको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट ल्याएको थियो ।