सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, छानबिनका लागि डिआइजी थापाको नेतृत्वमा समिति गठन

काठमाडौँ, २१ जेठ । सशस्त्र प्रहरी बल नेपालको मुख्यालय (हलचोक) स्थित एमटी (सवारी) शाखामा भएको आगलागी घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टका अनुसार घटनाको विस्तृत छानबिनका लागि डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको हो। समितिले आफ्नो काम सुरु गरिसकेको र तोकिएको कुनै निश्चित हदम्याद नभए पनि यथाशीघ्र छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो।

बुधबार राति करिब ८:०० बजे मुख्यालयस्थित सवारी शाखामा अचानक आगलागी भएको थियो। आगलागीबाट त्यहाँ राखिएका केही सवारीसाधनहरूमा क्षति पुगेको छ। बंगलामुखी गणबाट खटिएको टोली र अन्य अग्नि नियन्त्रक उपकरणको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

यसअघि पनि सशस्त्र प्रहरी मुख्यालय र काठमाडौँको सतुङ्गलस्थित सशस्त्र प्रहरीको केन्द्रीय भण्डार (स्टोर) मा आगलागीका घटनाहरू भएका थिए। लगातार यस्ता संवेदनशील स्थानमा आगलागी हुनुको कारण पहिल्याउन र आगामी दिनमा सुरक्षित रणनीति तय गर्न यस छानबिनलाई गम्भीरतापूर्वक अघि बढाइने मुख्यालय स्रोतले जनाएको छ।