रसुवामा अनुमति बिना अन्तःशुल्कजन्य वस्तुहरूको कारोबार नगर्न आग्रह, दायरामा नआए कारबाही गरिने

रसुवा, २१ जेठ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) रसुवाले प्रचलित कानुन बमोजिम आवश्यक इजाजत (लाइसेन्स) लिएर मात्र मदिरा, सुर्ती, गुट्खा लगायतका अन्तःशुल्कजन्य वस्तुहरूको बिक्री–वितरण तथा कारोबार गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

जिल्लामा अनुमति बिना नै मदिरा र सुर्तीजन्य वस्तुहरूको अवैध कारोबार भइरहेको गुनासो प्राप्त भएपछि कोलनिकाले यस्तो आग्रह गरेको हो। अन्तःशुल्क ऐन विपरीत इजाजत नलिई कारोबार गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने कार्यालयले स्पष्ट पारेको छ।

जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे र पारच्याङ लगायतका व्यापारिक केन्द्रहरूका केही व्यवसायीले इजाजत विना कारोबार गरिरहेको सूचना प्राप्त भएपछि कोलनिकाले सचेतना तथा नियमन कार्यलाई तीव्र बनाएको हो।

जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका छ जना व्यवसायीले मात्र अन्तःशुल्क बिक्री–वितरणको अनुमति लिएका अभिलेख छ ।

उल्लेख्य सङ्ख्याका व्यवसायीहरू अझै पनि करको दायरा बाहिर रहेकाले यथाशीघ्र अनुमति लिन ध्यानाकर्षण गराइएको छ। अन्तःशुल्क अनुमति प्राप्त गर्नका लागि व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालय गल्छीबाट अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *