एसियन गेम्स छनोट: मलेसियाविरुद्ध नेपालले प्रस्तुत गर्यो २७६ रनको विशाल लक्ष्य, कुशल भुर्तेलको सानदार शतक
काठमाडौँ, २१ जेठ । सिंगापुरमा जारी एसियन गेम्स टी-२० क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियाविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको ठूलो योगफल खडा गरेको हो।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान (ओपनर) कुशल भुर्तेलले सानदार शतकीय इनिङ खेले। उनले ५४ बलको सामना गर्दै १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको योगदान दिए। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो तेस्रो शतक हो।
यसैगरी, अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक अर्धशतकीय इनिङ खेले, जसमा ७ छक्का र ५ चौका सामेल थिए। मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ३१ रनको द्रुत इनिङ खेले।
बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए भने सिद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे। छनोट प्रतियोगिताको समीकरण अनुसार दुवै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्।