४४ वर्षको अल्पायुमा सबैको प्यारो कलाकार स्वतन्त्र संसार महर्जनको दुःखद निधन
ललितपुर, २९ असार । बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको ४४ वर्षको अल्पायुमै दुःखद निधन भएको छ । चार दिनअघि स्वास्थ्यमा अचानक गिरावट आएपछि कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ५:३० बजे उनको निधन भएको हो ।
आँट, साहस र धैर्यको प्रतीक मानिने स्वतन्त्र संसार महर्जनले नेपाली तथा नेपालभाषाको कला र कलाकारिताको उत्थानमा पुर्याएको योगदान सर्वविदित छ । सबैलाई खुसी देख्न चाहने र खुसी बाँड्ने स्वभावका महर्जन विगत डेढ दशकदेखि स्पाइनल कर्डमा ट्युमरको समस्याका कारण हिँडडुल गर्न नसके पनि कला र कलाकारिताको उत्थानमा निरन्तर लागिपरेका थिए ।

उनले विश्वकै सर्वाधिक लामो र सर्वाधिक अवार्ड भएको संसार नेशनल म्युजिक भिडियो अवार्ड लगायत विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका थिए । यस अवार्डको तेस्रो संस्करण गत जेठ महिनामा मात्रै भव्यताका साथ सम्पन्न भएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने अन्तिम प्रयासमा रहेका महर्जन बिरामी पर्नु एक दिनअघि गत मंगलबारसम्म पनि क्रियाशील थिए । सो दिन उनले संसार अनलाइन टेलिभिजनमार्फत राजेन्द्र डंगोलको गायन रहेको एक गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम आफैंले सञ्चालन गरिरहेका थिए ।

खोकनाको शान तथा आदर्श व्यक्तित्व मानिने महर्जनको आकस्मिक निधनले खोकनाबासी मात्र नभई सम्पूर्ण कला क्षेत्रलाई स्तब्ध बनाएको छ । शोकयात्रामा खोकनावासीको आँखामा आँसु प्रस्ट देखिन्थ्यो । सबैको प्यारो मान्छे, यति छिट्टै देशलाई रुवाएर बिदा होलान् भनेर कसैले कल्पना पनि गरेका थिएनन् । सबैको प्यारो मान्छे, भगवानको पनि चाँडै प्यारो बन्यो ।