साफ यु२० महिला च्याम्पियन्सीप

अन्तिम सकेन्डमा गोल वेहोरेपछि नेपाल स्तब्ध

काठमाडौँ, २९ असार। साफ यु२० महिला च्याम्पियन्सीपमा बङगलादेशले नेपाललाई नाटकीयरुपमा ३–२ ले हराएको छ । इन्जुरी समयको १२ औँ मिनेटमा वैकल्पिक खेलाडी तृष्णारानीले गोल गरेपछि नेपाल स्तब्ध भएको हो । तृष्णाको गोलसँगै सो खेल सकिएको थियो ।

बङगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रङगलशालामा नेपाल पुर्वार्धमा दुई गोलले पछाडि परेको थियो । बङगलादेशका लागि खेलको १४ औँ मिनेटमा शिखा र ३६ औँ मिनेटमा सागोरिकाले गोल गरे ।

नेपालकी डिफेन्डर गंगा रोकायाले गोलरेखाबाट पारेको बल शिखाले रिबाउन्डमा गोलपोस्टमा छिराएकी हुन् । सागोरिकाले पनि रिबाउन्डमै गोल गरिने । नेपालकी गोलकिपर सुजाता तामाङको ‘क्लियरेन्स’ राम्रो नहुँदा गोलपोस्ट नजिक रहेकी सागोरिकाले गोल गर्ने अवसर पाएकी हुन् ।

खेलको ५६ मिनेटमा नेपालकी सिमरान राई र सागोरिकाले झडपपछि रातो कार्ड पाउँदा दुवै टिमले बाँकी समय दस–दस खेलाडीमा खेले । खेलको ७७ औँ मिनेटमा अनिशा राईले पेनाल्टीमा गोल गरी गोल अन्तर कम पारिन् । बङगलादेशी डिफेनडरले मिना देउबालाई लडाइपछि नेपालले पेनाल्टी पाएको हो । खेलको ८६ औँ मिनेटमा पूर्णिमा राईको क्रसमा मिनाले गोल गरी स्कोर २–२ पारिन् ।

यसअघि खेलको २८ औँ मिनेटमा अनिशाले डिबक्सबाहिर प्राप्त फ्रिकिकमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केपछि नेपाल गोलबाट वञ्चित भएको थियो ।