अवैध डिम्ब कारोबारमा फर्टिलिटी क्लिनिकहरूकाे गिराेह, १५ हजार दिएर २० लाखसम्म असुली

काठमाडौँ, ३१ असार । किशोरीहरूलाई प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब (अण्डा) निकालेर बेचबिखन गरेको गम्भीर आरोपमा काठमाडौँका दुई फर्टिलिटी क्लिनिक प्रहरीको अनुसन्धानको दायरामा परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा चिकित्सकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हाे।

सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार, बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ र महाराजगन्जको ‘एन्जेल फर्टिलिटी क्लिनिक’ माथि अनुसन्धान केन्द्रित छ। ती क्लिनिकले १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब सङ्कलन गरी निःसन्तान दम्पतीलाई बेच्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ब्युरोले होप फर्टिलिटीबाट डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरीसहित पाँच जनालाई पक्राउ गरेको थियो। यद्यपि, काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि हाल उनीहरू हाजिर जमानीमा छुटेका छन्।

अनुसन्धान अनुसार, क्लिनिकका एजेन्टहरूले किशोरीहरूलाई सम्पर्क गरी प्रलोभनमा पार्थे। रजस्वला भएको तेस्रो दिनदेखि उनीहरूलाई क्लिनिकमा लगेर १० दिनसम्म राखिन्थ्यो र पेटमा सिरिन्जमार्फत सुई लगाइन्थ्यो। १३ औँ दिनमा बेहोस बनाएर डिम्ब निकालेपछि किशोरीलाई १५ हजार रुपैयाँसम्म दिइन्थ्यो भने एजेन्टले ४० हजारसम्म लिने गरेको खुलेको छ।

क्लिनिकले भने यही डिम्ब निःसन्तान दम्पतीलाई ट्रान्सफर गरेबापत २० लाख रुपैयाँसम्म असुल्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

डिम्ब निकालिएका केही किशोरीहरूमा दुब्लाउने र खानामा अरुचि हुने जस्ता स्वास्थ्य समस्या देखिएपछि अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा सीआईबीले आरोपीहरूविरुद्ध बालबालिका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *