देवघाटमा साउने मेला सुरु, हजारौं भक्तजनको उमंग

 

चितवन, १ साउन  । पवित्र देवघाटधाममा आजदेखि वार्षिक साउने मेला तथा बोलबम मेलाको शुभारम्भ भएको छ। शिवभक्तहरूको प्रिय महिना साउनको पहिलो दिनदेखि नै देवघाटमा भक्तजनको उल्लेखनीय भीड देखिएको छ।

बिहानैदेखि आएका भक्तजनहरूले देवघाटको पवित्र जलमा स्नान गरी शिवालयमा जल चढाउने र भगवान् शिवको आराधना गर्ने परम्परागत अनुष्ठान सम्पन्न गरिरहेका छन्। साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिने भएकाले यस समयमा देवघाटको धार्मिक महत्त्व झन् बढेको छ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्षको साउने मेलामा करिब पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। उहाँले सोमबार विशेष गरी अधिक संख्यामा भक्तजन आउने अपेक्षा गरिएको जानकारी दिनुभयो।

बढ्दो भक्तजनको संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा उचित सुरक्षा व्यवस्था मिलाइएको निर्देशक बरालले बताउनुभयो। मेलाको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको छ।

हिन्दू धर्मावलम्बीहरूको मान्यता अनुसार साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको पवित्र जल र बेलपत्रले भगवान् शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ। यही विश्वासका कारण देशभरका भक्तजनहरू देवघाटमा आएर आफ्ना मनोकामनाहरू पूरा गर्न भगवान् शिवको आराधना गर्छन्।