बाजुरामा जीप दुर्घटना, दुई जनाको मृत्यु, १५ घाइते
बाजुरा, ८ साउन । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–५, क्युडी निवासी ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेका छन् ।
क्युडी गाउँबाट वडा कार्यालयतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार, कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको हो । जीपमा सवार यात्रुहरू सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय जाँदै थिए ।
घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।