ओझेलमा धवलागिरिको सुन्दर उपहार : अर्मके झरना
काठमडाौँ, बैशाख २५ । धवलागिरि चक्रीय पदमार्गको कठिन यात्रा गरिरहेका पदयात्रीहरू जब म्याग्दीको धवलागिरि गाउँपालिका-४ स्थित बगर जेल्तुङ नजिक पुग्छन्, तब उनीहरूको थकानलाई प्रकृतिले एकैछिन भुलाइदिन्छ । अग्लो पहाडको फेदीबाट दुई तहमा छङछङ गर्दै झर्ने मनमोहक ‘अर्मके झरना’ले जो-कोहीको मन लोभ्याउँछ । तर, प्रकृतिको यो सुन्दर उपहार आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा अझै पनि पर्यटकीय नक्सामा ओझेलमै छ ।
करिब २०० मिटरको उचाइबाट झर्ने यो झरनाको दृश्य जति आकर्षक छ, यसको अवस्थिति त्यति नै विशिष्ट छ । झरनाको फेदीमा एउटा सुन्दर तलाउ छ भने त्यसकै समीपमा म्याग्दी नदी कलकल बगिरहेको छ । अझ रोचक कुरा त के छ भने, झरनाको नजिकै प्राकृतिक तातोपानीको कुण्ड पनि रहेको छ । चिसो झरना र तातो कुण्डको यो अनुपम संगम विरलै देख्न पाइन्छ ।
सडक पुग्यो, तर पहुँच अझै कठिन
विगतमा विकट मानिएको यस क्षेत्रमा म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भएसँगै सडक पुगेको छ । जेल्तुङबाट १० मिनेटको पैदल यात्रा वा ५ मिनेटको सवारी यात्रामा झरना नजिक पुग्न सकिन्छ । तर, सडकबाट झरना र तातोपानी कुण्डसम्म पुग्न म्याग्दी नदी बाधक बनेको छ । नदीमा पक्की वा झोलुङ्गे पुल नहुँदा पर्यटकहरूले जोखिम मोलेर काठको अस्थायी साँघु वा डाइभर्सनको सहारा लिनुपर्ने बाध्यता छ ।
वडा सदस्य हरिप्रसाद तिलिजा भन्नुहुन्छ, “सडक पुगेसँगै अब अर्मके झरनामा पर्यटकको चहलपहल बढ्ने आशा पलाएको छ । तर, नदीमा पुल नहुँदा र व्यवस्थित पदमार्ग नबन्दा सोचेजस्तो विकास हुन सकेको छैन । हामीले यसलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिरहेका छौँ ।”
स्वस्थ्य र मनोरञ्जनको संगम
झरनाको फेदीमा रहेको तातोपानी कुण्ड स्थानीय र पदयात्रीका लागि ‘प्राकृतिक उपचार केन्द्र’ जस्तै बनेको छ । जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने यो पानीमा स्नान गर्दा चोटपटक लागेको, गानोगोला, ग्यास्ट्रिक र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।
धौलागिरि हिमाल आरोहण गर्न जाने टोली र चक्रीय पदमार्गका यात्रीका लागि यो झरना र तातोपानी कुण्ड थकान मेटाउने उत्तम विश्रामस्थल बन्न सक्छ । तर, बर्खायाममा झरनाको पानीको फोहोराले तातोपानी कुण्डका संरचनाहरू भिजेर कुहिने समस्याले गर्दा यसको उचित संरक्षण चुनौतीपूर्ण बनेको छ ।
सम्भावनाको पर्खाइ
धवलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर पुग्नुअघिको यो गन्तव्यलाई व्यवस्थित गर्न सके यसले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने देखिन्छ । पदयात्रीहरूको बसाइ लम्ब्याउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न झरना आसपासमा उद्यान, भ्यू–प्वाइन्ट र व्यवस्थित स्नान गृह निर्माण गर्नुपर्ने देखिन्छ ।
प्रकृतिको यो अनुपम सिर्जना अर्मके झरनाले अहिले आफ्नो अस्तित्व जोगाउँदै पर्यटक र राज्यको नजरको पर्खाइमा छ । सडक पुगेसँगै अबको पाइला पूर्वाधार निर्माण र प्रचारमा केन्द्रित हुने हो भने अर्मके झरना म्याग्दीको मात्र नभई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निश्चित छ ।