विश्वभर दोस्रो विश्वयुद्धका पीडितहरूको स्मृति तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ, वैशाख २५ । विश्वका विभिन्न राष्ट्रहरूमा आज र भोलि (मे ८ र ९) दोस्रो विश्वयुद्धका पीडितहरूको सम्झना तथा मेलमिलाप दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको विशेष प्रस्तावअनुसार हरेक वर्ष यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।

महासभाले उक्त प्रस्तावमार्फत सदस्य राष्ट्रहरू, राष्ट्रसङ्घीय निकायहरू, गैरसरकारी संस्था र नागरिक समाजलाई उपयुक्त ढङ्गले स्मृति दिवस मनाउँदै युद्धका पीडितहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरेको थियो । दोस्रो विश्वयुद्धजस्तो भयावह र विनाशकारी घटनाले भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरिएको छ ।

महासभाले सदस्य राष्ट्रहरूलाई राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा सुदृढ तुल्याउन एकताबद्ध प्रयासका लागि समेत आग्रह गरेको छ ।

सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गरी मे ८ र ९ लाई सबै पीडितको सम्मानमा मनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेको थियो । सोही वर्ष दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको अवसरमा विशेष शोकसभाको समेत आयोजना गरिएको थियो ।

राष्ट्रसङ्घका तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई ‘स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष’ को संज्ञा दिनुभएको थियो । सो भीषण युद्धमा झन्डै चार करोड सर्वसाधारण र दुई करोड सैनिकले ज्यान गुमाएका थिए, जसमा आधा संख्या तत्कालीन सोभियत सङ्घका सैनिकको थियो ।

दोस्रो विश्वयुद्धले युरोप, एसिया, अफ्रिका र प्रशान्त क्षेत्रलगायत विश्वका विभिन्न भूभागमा अपूरणीय मानवीय क्षति पुर्‍याएको थियो । यद्यपि, युद्धपछिको समयमा मेलमिलाप, अन्तर्राष्ट्रिय र क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार र आधारभूत स्वतन्त्रताको प्रवद्र्धनमा भएको प्रगतिलाई विश्व समुदायले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ ।

दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्ष पूरा भएको सन्दर्भमा गत वर्ष मे ७ मा महासभाले विशेष शोकसभा आयोजना गरी विश्व शान्तिको आवश्यकतालाई पुनः औँल्याएको थियो ।