नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा सुक्खा पहिरो, यातायात पूर्ण रूपमा ठप्प
भरतपुर, २५ वैशाख । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान सुक्खा पहिरो खसेपछि आवागमन बन्द भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक दुवैतर्फी अवरुद्ध छ। सडकमा ठूलो परिमाणमा पहिरो खसेकाले सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।
अहिले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। प्रहरी टोलीले पहिरो पन्छाएर सडक सुचारु गराउन पहल गरिरहेको भए पनि पहिरो झर्ने क्रम रोकिए मात्र काम छिटो सकिने प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू अलपत्र परेका छन्।