कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण सम्पन्न, यातायात सञ्चालन

काठमडाौँ, बैशाख २५ ।  राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको बेनी-जोमसोम–कोरला सडक खण्डमा पर्ने मुस्ताङको कैकुखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । थासाङ गाउँपालिकामा पर्ने उक्त खोलामा मोटर गुड्ने पक्की पुल निर्माण भएसँगै यस सडक खण्डमा आवागमन सहज बनेको छ ।

बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयका अनुसार उक्त पुल २० मिटर लामो छ । योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर जेमकुमार बैठाले पुलको निर्माण कार्य सम्पन्न भई सवारी साधन सञ्चालन हुन थालेको जानकारी दिनुभयो ।

पुल निर्माणका लागि रु. ५ करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै दुवैतर्फका पहुँचमार्गको स्तरोन्नति, बाढी र कटान रोकथामका लागि आवश्यक तटबन्ध लगायतका संरचनाहरू समेत तयार पारिएका छन् ।

पर्वतको लामढुङ्गादेखि चीनको तिब्बतस्थित कोरला नाकासम्म जोड्ने २०२ किलोमिटर लामो यस सडक खण्डमा हालसम्म १५ वटा पक्की पुलहरू निर्माण भइसकेका छन् । योजना कार्यालयका अनुसार अहिले लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन अवस्थामा छ । यसका साथै सोही सडक खण्डका विभिन्न स्थानमा छ वटा ‘बेलिब्रिज’ समेत सञ्चालनमा रहेका छन् ।

यस सडक खण्डमा हुने पुल निर्माणका कार्यले नेपाल-चीन सीमा जोड्ने यो व्यापारिक मार्गमा बाह्रै महिना यातायात सेवा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।