भारतमा बन्धक बनाई अनलाइन ठगीमा लगाउने दुई गिरोह पक्राउ

काठमाडौँ, ९ साउन । भारतमा आकर्षक तलबसहितको चालकको जागिर दिने प्रलोभनमा पारी नेपाली युवालाई बन्धक बनाएर अनलाइन ठगी (स्क्यामिङ) मा लगाउने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

ब्युरोका अनुसार, अभियुक्तहरूले पीडितलाई भारतमा मासिक ३५ हजार भारु तलब र ओभरटाइमको लोभ देखाएर लगेका थिए। राजकुमारले पीडितलाई काठमाडौँबाट वीरगञ्ज पुर्‍याएर रेशमबहादुरको जिम्मा लगाएका थिए। त्यसपछि रेशमले भारतको पटनास्थित ‘वेल स्टार डाइनामिक कम्पनी’ मा पुर्‍याई बन्धक बनाएका थिए।

प्रहरीका अनुसार, पीडितलाई तालिमका नाममा सात दिनसम्म बन्धक बनाइयो र शारीरिक तथा मानसिक यातना दिइयो। उनीहरूलाई नयाँ फेसबुक आईडी बनाएर अन्य व्यक्तिहरूलाई फसाउने, अनलाइनमार्फत ठगी गर्ने जस्ता अवैध काम गर्न बाध्य पारिएको थियो। परिवारसँग सम्पर्क गर्न नदिने, डर-धम्की दिने र जबरजस्ती कागज गराई थप दुई महिना बन्धक बनाइएको थियो।

पीडित व्यक्ति दुई महिनापछि त्यहाँबाट भागेर नेपाल आई ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले राजकुमारलाई काठमाडौँको बल्खुबाट र रेशमलाई पर्साबाट पक्राउ गरेको हो। उनीहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी ‘मानव बेचबिखन तथा ओसारपसार’ कसुरमा विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।