प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन
पर्सा, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।
“आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “यो भवन निर्माण हुनु पक्कै पनि खुसीको विषय हो । यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”
प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इञ्जिनियरहरूको पनि खुलेर प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण हुने कार्य द्रूत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताउनुभयो ।