विकास बोर्डद्वारा नेपालकै सबैभन्दा ठूलो इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः’ को दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान

 

काभ्रे, साउन १८ गते । चलचित्र विकास बोर्डले काभ्रे जिल्लाको वनेपा नगरपालिका–१०, जनगलमा निर्माण गर्न लागिएको अत्याधुनिक इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः’ को दोस्रो चरणको निर्माण कार्यका लागि औपचारिक रूपमा बोलपत्र (टेन्डर) आह्वान गरेको छ। बोर्डले आज (मंगलबार) गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत आफ्नो प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

यस वृहत् परियोजनामा सहभागी हुन चाहने निर्माण कम्पनीहरूले रु. ३६ लाखको बोलपत्र सुरक्षा रकम (बिड सेक्युरिटी) र रु. १० हजारको गैर–फिर्तायोग्य दस्तावेज शुल्क बुझाउनुपर्नेछ। स्मरणीय छ, बोर्डले यसअघि २०८१ माघ २७ गते ‘सिनेपाः’ को पहिलो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको थियो।

बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ। निजीस्तरमा केही साना स्टुडियोहरू सञ्चालनमा रहे पनि, सरकारी स्वामित्वमा यति ठूलो र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो नेपालमा पहिलोपटक निर्माण हुन लागेको हो।

कुल ४२ रोपनी क्षेत्रफलमा फैलिने यस महत्वकांक्षी स्टुडियोले स्वदेशी चलचित्र निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउने लक्ष्य राखेको छ। वर्षौंदेखि योजनास्तरमा मात्र सीमित रहेको यो परियोजनाले हालै निर्माण चरणमा प्रवेश पाएको हो।

‘सिनेपाः’ स्टुडियो निर्माण आरम्भ भएको औपचारिक घोषणा २०८२ वैशाख ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा गरेका थिए। उक्त अवसरमा प्रधानमन्त्री ओलीले यस परियोजनालाई नेपाली चलचित्र क्षेत्रका लागि ‘एक प्रकारको क्रान्ति’ को संज्ञा दिँदै यसको महत्वमाथि प्रकाश पारेका थिए।

‘छ दशकअघि देखिको सपना अब साकार हुँदैछ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘राज्यसँग धेरै बजेट नभए पनि सुरु गरिएका कामहरू पूरा हुन्छन्। सिने क्षेत्रप्रति हाम्रो प्रतिबद्धता दृढ छ।’

‘सिनेपाः’ को निर्माणले नेपाली फिल्म उद्योगमा लामो समयदेखि खड्किएको आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्ने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय मापदण्डको छायांकन वातावरण सिर्जना गर्दै नेपाली चलचित्रलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास चलचित्र विकास बोर्डले लिएको छ।