कपन साहित्य समाजको १० औँ काव्य शृङ्खला सम्पन्न

काठमाडौँ, २ साउन । नेपाली साहित्यको स्थानीय स्तरमा प्रवर्द्धन र स्रष्टाहरूको अन्तरक्रियालाई निरन्तरता दिँदै ‘कपन साहित्य समाज’ले आफ्नो नियमित मासिक काव्य शृङ्खलाको १०औँ काव्य शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार कपनस्थित कपन क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा तीन दर्जनभन्दा बढी स्थापित तथा नवोदित स्रष्टाहरूले आफ्ना मौलिक रचना प्रस्तुत गरे।

समाजका महासचिव लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजन तथा सहजीकरण सचिव एवं कविता वाचन समितिका संयोजक त्रिलोचन आचार्यले गर्नुभएको थियो। कार्यक्रममा कविता मात्र नभई गीत, गजल, मुक्तक र सुसेली जस्ता नेपाली वाङ्मयका विविध विधामा सिर्जना वाचन गरिएको थियो।

वाचन शृङ्खलामा होमशंकर बास्तोला, च्यवन बस्नेत ‘ठूलाघरे’, दुर्गा अधिकारी ‘भ्रमरकोटे’, रामचन्द्र दाहाल, आल्फिफोहेन फाक्लुप्पा, महेश्वर खनाल, किशोर श्रेष्ठ, भावना बराल, सञ्जय सोती, पुष्पा दाहाल, र ओमप्रसाद कोइरालाले आफ्ना रचना सुनाउनुभएको थियो।
त्यसैगरी, विनोद दाहाल ‘वत्स’, पार्वता गौतम, भानुभक्त न्यौपाने, निमबहादुर ओली, शुकदेव उपाध्याय, हेमा अधिकारी, जमुना आचार्य, अनिता महर्जन, शान्ता दाहाल, शान्ति न्यौपाने, रोजु गौतम, प्रवीणचन्द्र पौड्याल, विश्वनाथ तामाङ, विसु कुमार के.सी., सम्मान आचार्य र निबन्ध आचार्यलगायतका कविहरूले समसामयिक बेथिति, प्रेम, दर्शन र राष्ट्रियताका विषयमा आधारित सिर्जना प्रस्तुत गर्नुभयो।

कार्यक्रमको विशिष्ट पक्षका रूपमा स्रष्टा डा. भारद्वाज मित्रले प्रस्तुत सिर्जनाहरूमाथिको प्राविधिक तथा वैचारिक टिप्पणी रहेको थियो। उहाँले वाचित रचनाहरूमा देखिएका आधुनिक प्रवृत्ति, छन्दको प्रयोग र कविताले समाजलाई दिने सन्देशबारे सूक्ष्म विश्लेषण गर्नुभयो। डा. मित्रले यस्ता नियमित जमघटले लेखकको शिल्प निखार्न र नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न उत्प्रेरकको भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कविता वाचन समितिका सदस्य कवि होमशंकर बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा समाजकी कोषाध्यक्ष एवं वाचन समिति सदस्य हेमा अधिकारीले सहभागी स्रष्टा र साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

काठमाडौँको उत्तर–पूर्वी क्षेत्रमा साहित्यिक केन्द्रका रूपमा विकास भइरहेको कपनले यस्ता शृङ्खलाका माध्यमबाट ‘भुइँ तहको साहित्य’लाई बलियो बनाउँदै लगेको छ। १० औँ शृङ्खलासम्म आइपुग्दा समाजले विधागत विविधतालाई समेट्नु र रचनाको गुणात्मक परीक्षण गर्ने पद्धति अगाडि बढाउनुलाई प्राज्ञिक दृष्टिकोणले सकारात्मक मानिएको छ। प्रविधिको बढ्दो प्रभावका बीच प्रत्यक्ष उपस्थित भएर गरिने यस्ता काव्यिक विमर्शले नेपाली भाषा र साहित्यको मौलिकता जोगाउन कोसेढुङ्गा सावित हुने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *