किनारीकरणको कथा – तेजस्
उपन्यासकार शैलेन्द्र अधिकारीद्वारा लिखित तेस्रो उपन्यास हो तेजस् । गत हप्ता प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा उक्त उपन्यासको विमोचन सम्पन्न भयो । कूल २९८ पृष्ठ भएको पुस्तक शिखा बुक्सद्वारा प्रकाशन गरिएको हो ।
सामाजिक सञ्जालमा विमोचन पूर्व नै पुस्तक प्रकाशनको हल्ला मच्चियो । शीर्षक ‘तेजस्’ सुन्ने वित्तिकै यो कस्तो पुस्तक होला भन्ने उत्सुकता मभित्र पनि जाग्न थाल्यो । पुस्तक प्राप्त गर्ने वित्तिकै कभर पृष्ठमा आँखा दौडिए । “काठमाडौंको मुटुमा दन्किरहेको इतिहासको तेजोमय ज्वाला हो तेजस् ।” भन्ने वाक्यांश पढेपछि उपन्यासकारलाई मनमनै धन्यवाद दिएँ । वाह चतुर खेलाडी ! पाठकलाई आकर्षित गर्ने तिम्रो कला, भने जस्तो लाग्यो । अवलोकनकै क्रममा कभर पृष्ठले धेरै कुरा बोल्यो । काठमाडौं उपत्यका र आसपासमा बसोबास गर्ने नेवारी सभ्यता र वुद्ध धर्ममाथि तत्कालीन शासक वर्गले गरेको अत्याचारको कथा हो तेजस् भन्ने कुरा प्रष्ट भयो । कथाको मुख्य चुरो प्रष्ट भइसकेपछि मभित्र अर्को खुल्दुली मच्चियो । यस कथारूपी मालामा उनिएका पूmलका एक एक थुँगा केलाएर सुँग्ने आकांक्षा मभित्र जागिहाल्यो ।
समय मिलेपछि सरसर्ती पढ्न थालेँ । जे पर्ला टर्ला भनेर आपूmलाई रत्नमणिको स्थानमा रुपान्तरित गरिदिएँ । सेतो ख्याकको प्रतिनिधि अर्थात् श्यामल काजीले जता जता बोलाउँछ उतै उतै जान थालेँ । काठमाडौंको नरदेवी आसपासबाट आरम्भ भएको यात्रा बसन्तपुर, स्वयम्भु, चन्दागिरी, दहचोक, पाटन, भक्तपुर, सिंहदरबार, नारायणहिटी, हुदै भारतको दार्जिलिङसम्म घुमेर आउने मौका पाएँ । जता बोलाउँछस् उतै जान्छु भन्दै ख्यकको पछिपछि हिँड्दै रमाउन मलाई तीन दिन लाग्यो । तर आफ्नो कुनै पनि नियमित काम विचलन गरिन । फुर्सदको समयमा चाहिँ तेजस्लाई छोडेर अन्त रमाउन पटक्कै सकिन ।

पत्र पल्टाउँदै जाँदा मल्लकालीन इतिहास पढ्न सुरु गरँे जस्तो लाग्न थाल्यो । समाजशास्त्रको विद्यार्थीलाई इतिहासको विषयवस्तु चाख नहुने त कुरै भएन । क्रमशः अगाडि बढ्दै जाँदा बौद्ध धर्म, संस्कृति र रहनसहन अनि भिक्षु र भन्तेहरूको कथालाई सुक्ष्म ढंगले केलाएको रहेछ । ऐतिहासिक विषयका स–साना घटनाहरूलाई कोमल ढंगले जोड्ने लेखकीय शिल्पी देख्ता उपन्यासकार इतिहासप्रति अत्यन्तै जिम्मेवार ढंगले अगाडि वढेको जस्तो लाग्यो ।
साहित्य लेखन पक्कै पनि सजिलो विधा होइन । त्यसमा पनि उपन्यास लेख्नु त फलामको चिउरा चपाउनु बराबर हो भन्छन् अग्रजहरू । ऐतिहासिक विषयवस्तु माथि कलम चलाउने हिम्मत गर्नु अझ रोचक पक्ष हो । इतिहास पढ्दा सजिलो लाग्छ तर लेखन कार्य अत्यन्तै चुनौतिपूर्ण हुन्छ । लेखनका क्रममा तिथि मिति, नाम थर या सानो विवरण मात्रै तलमाथि प¥यो भने असहज अवस्था सिर्जना हुन जान्छ । लेखनका क्रममा इतिहास तोडमोड गर्ने छुट कसैलाई पनि छैन । यदि केही कतै तलमाथि भयो भ ने त्यो ठूलो अपराध ठहर्छ ।
त्यसैले एतिहासिक विषयमा लेखन गर्दा अत्यन्तै सन्तुलित भएर कलम चलाउनु पर्दछ । मलाई बौद्ध दर्शनको यथोचित ज्ञान नभएको हुँदा लेखकले विषयवस्तु माथि पर्याप्त अध्ययन अनुसन्धान गरेर मात्र कलम चलाएको हो जस्तो लाग्छ ।
तेजस् यौटा उपन्यास हो । पूर्ण काल्पनिक कथा होइन र कुनै पनि कालखण्डको विस्तृत इतिहास पनि होइन । पुस्तक पढ्दै जाँदा बेलाबेलामा नेवारी समुदाय र बौद्ध ग्रन्थ पढ्दै छु कि भन्ने भान भयो । नितान्त उपन्यासको कथामा रमाउन खोज्ने पाठक कतै इतिहासको पानाभित्र अलमलिने त होइन भने जस्तो डर पनि लाग्यो । उपन्यासमा ऐतिहासिक विवरण भन्दा कथात्मक विवरण अलि धेरै चाहिने हो कि ? पढ्दै जाँद केही ठाउँमा एकै खाले शब्दहरु धेरैपटक प्रयोग भएका छन् । जसले गर्दा पाठकलाई झिँजो पनि लाग्न सक्छ । अर्को लेखनको क्रममा यसतर्फ लेखकले पक्कै ध्यान दिनेछन्, भन्ने ठानेको छु ।
उपन्यासले उठाउन खोजेको विषयवस्तु बढो रमाइलो ढंगले वर्णन गरिएको छ । यो अत्यन्त सकारात्मक पक्ष हो । नेवारी समुदायमा ख्याक (भुत) ज्यादै प्रचलित शब्द हो । अहिले पनि बुढापाकाले केटाकेटीलाई ख्याकको कथा सुनाउने प्रचलन छ । ख्याक दुई प्रकारका हुन्छन् । कालो र सेतो । कालो ख्याक अशुभको प्रतिक मानिन्छ । यसले कसैलाई भेट्यो भने मान्छे बिरामी पर्छ या चाँडै नै उसको मृत्यु हुन्छ भन्ने धारणा छ । तर सेतो ख्याक चाहिँ शुभलाभको प्रतिक भनिन्छ । यस कथाका नायक अर्थात् रत्नमणिलाई सेतो ख्याकले भेटेर सम्पूर्ण कथा बताएको छ ।
रत्नमणि पेशाले एक कुशल चित्रकार हुन् । आफ्नो पूख्र्यौली पेशा पौभा चित्र बनाउने सरल व्यक्तिको रूपमा उनलाई प्रस्तुत गरिएको छ । सरसर्ति हेर्दा पौभा चित्र यौटा सामान्य कलाकारिता हो । चित्र कला न हो ! तर यसको गहिराइभित्र पस्दै जाँदा असामान्य देखिन्छ । भन्नेले त कपडामा रङ्गको मिश्रण गर्दै तयार पारेको यौटा सामान्य चित्र न हो पनि भन्लान् । तर पौभा चित्रभित्र विशाल इतिहास छ । यसमा समाज, संस्कार र संस्कृति छ । अध्यात्म छ । विशिष्ट मानवीय भावना गाँसिएको छ । तेजस् पढेपछि धेरै कुराहरु बुझिन्छ ।
चित्र तयार गर्नुपूर्व चित्रकारले कपाल खौरिएर हविष्यान्न भोजन गर्नुपर्छ । चित्र बनाउन थालिसकेपछि पूर्ण नभएसम्म सात्विक आहार मात्र ग्रहण गर्नुपर्ने रहेछ । यसको मतलब त्यहाँ भित्रको अध्यात्मिक पक्ष गहन छ । अध्यात्म, कलाकारिता र संस्कृतिको त्रिवेणीको रूपमा पौभा चित्रलाई बुभ्mनुपर्ने रहेछ । वाह लेखक महोदय सामाजिक विषयवस्तुप्रतिको गहन चिन्तनलाई मैले मानेँ ।
मल्लकालीन समयमा उपत्यकाको वरिपरि अष्टभैरव, अष्टमातृका चोक चोकमा विभिन्न देवी, देवताका मन्दिर संख्यात्मक रूपमा स्थापना गरिएका थिए । तिनै मन्दिर, भवन र सत्तलमा कुँदिएका टँुडाल र तोरणहरूको विशेष महत्व छ । वास्तुकला, मूर्तिकला र चित्रकलाले सिँगारिएको काठमाडौँ उपत्यकामा ती मन्दिर, सत्तल, भवन र रथ गुड्दा पाङ्ग्राबाट अद्भूत तेज प्रदीप्त हुने कुरा अन्य इतिहासमा पनि पनि वर्णन गरिएको छ । त्यही प्रदीप्त तेजको वर्णन हो तेजस् ।
उपन्यासले तत्कालीन समाजको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सम्पूर्ण पाटोलाई उजागर गर्ने प्रयास गरेको छ । मल्लकालीन शासकको धर्मप्रतिको सद्भावदेखि लिएर सत्ता संघर्षको षडयन्त्रको समेत वर्णन छ । पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेको भोलिपल्ट कुमारीको दर्शन गरेर प्रसाद ग्रहण गर्नु भनेको चानेचुने कुटनीति होइन । त्यस्तै राणाकालीन प्रधानमन्त्रीहरूले जनतामाथि गरेको अन्याय र अत्याचार समेत खुलाउने भरमग्दुर प्रयास गरेका छन् लेखकले ।
राज्यको सबैभन्दा केन्द्रमा रहेकाहरू नै कसरी किनारीकृत भए भन्ने दृष्टान्तलाई उपन्यासले सहज ढङ्गले प्रस्तुत गरेको छ । सभ्यता सँगसँगै रन्जना लिपिलाई राज्यले गरेको हेलाहोचो सम्मलाई उपन्यसामा प्रस्तुत गरिएको छ । सिद्धान्ततः समाज र राजनीति एकै सिक्काका दुई पाटा हुन् ।
कुशल राजनीतिक नेतृत्व विना समाजको विकास असम्भव हुन्छ । सभ्य समाज निर्माण हुनको लागि जनता स्वस्थ, शिक्षित एवं लगनशील हुनुपर्दछ । तर विडम्बना ! ऐतिहासिक कालदेखिनै नेपालका राजनीतिज्ञहरूले आपूmलाई सर्वेसर्वा ठाने । विज्ञ सम्झिए । शासक ठाने । आफ्नो बोली नै कानून मानेर शासन गर्नलागे । जसको परिणाम आजसम्म पनि भोग्नुपरेको छ ।
मन नपरेकालाई सजाएँ दिनु प¥यो भने अवान्छित लाञ्छना लगाउनु नै शासकले मुख्य हतियार सम्झिन्छ । यो राजनीतिक चरित्र हो । श्री ३ चन्द्रशम्शेरको पालामा छ जना भिक्षुहरूलाई देश निकालाको आदेश दिइयो । आदेशमा भनिएको थियो, ‘हाम्रो धर्म र संस्कार कसरी जोगाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।
त्यसका लागि हामी जे पनि गर्न सक्छौँ । यो भूमि केवल हाम्रो हो । यिनीहरूलाई तत्काल चार भञ्ज्याङ कटाउनू’ नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तै जनतालाई तर्साउन राज्यले धर्मप्रति आस्थावान् भिक्षुहरूलाई अनागरिक बनायो । उनीहरूको अपराध थियो कि थिएन ? त्यसको वास्तविक अध्ययन अनुसन्धान गर्नु भन्दा पनि हुकुमी आदेश दिएर अभियोग लगाइयो । जुन निराधार थियो भनी लेखकले स्पष्टीकरण दिएका छन् ।
कुनै पनि चिज वस्तुलाई अवलोकन गर्दा हरेक व्यक्तिको फरक फरक दृष्टिकोण रहन्छ । हरेक व्यक्तिले लिने स्वादमा भिन्नता अवस्य हुन्छ । मलाई राम्रो लागेको कुरा तपाईंलाई नराम्रो पनि लाग्न सक्छ । मलाई मन नपरेको विषय तपाईंलाई ज्यादै मनपर्न पनि सक्छ । काठमाडाँै उपत्यकाको ऐतिहासिक विषवस्तुलाई केन्द्रमा राखेर लेखिएको तेजस् उपन्यास यौटा उपन्यास मात्र नभएर तत्कालीन परिवेश समाज, संस्कृति र बौद्ध धर्मको मिश्रण पनि हो । तपाईं हामीले एकपटक पढ्नै पर्ने विषय छ । अवस्य पढ्नुहोला । अन्तमा उपन्यासकारलाई कृति सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।