विदेशमा लगानी गर्न लगाइएको प्रतिबन्ध हट्दै, २५ प्रतिशत सम्म लगानी गर्न पाइने

काठमाडौँ, २० साउन । सरकारले नेपाली नागरिक तथा कम्पनीलाई विदेशमा लगानी गर्न अनुमति दिने गरी नयाँ कानून बनाउने तयारी गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै हालको प्रतिबन्धात्मक कानूनलाई संशोधन गरिने बताउनुभएको हो।

अर्थमन्त्री पौडेलका अनुसार, बजेटमा घोषणा भएबमोजिम नेपाली व्यवसायीलाई विदेशमा बिक्री शाखा खोल्न वा प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ। “विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ लाई संशोधन गरी नयाँ व्यवस्था ल्याउन सरकार अघि बढिसकेको छ,” उहाँले भन्नुभयो।

के छन् नयाँ व्यवस्था?
नयाँ कानूनअनुसार, नेपाली लगानीकर्ताले आफ्नो वार्षिक निर्यात आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउनेछन्। तर, त्यसरी गरिएको लगानीबाट आर्जित मुनाफाको ५० प्रतिशत भने अनिवार्य रूपमा नेपाल भित्र्याउनुपर्नेछ।

यस्तो लगानीको स्वीकृति दिने जिम्मेवारी लगानी बोर्डलाई दिइने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो। यो कदमले नेपाली व्यवसायलाई विश्व बजारमा विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।