३३ एसएसपीको सरुवा: काठमाडौँको कमान्ड दिलिप घिमिरेलाई, ललितपुरमा तुल बहादुर कार्की
काठमाडौँ, १८ जेठ । नेपाल प्रहरीमा एकैपटक ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। गृह मन्त्रालयको समेत कार्यभार सम्हालिरहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका हुन् ।
यस पटकको सरुवामा काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा दिलिप घिमिरेलाई ल्याइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागमा कार्यरत थिए। काठमाडौँमा कार्यरत रमेश थापालाई भने प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ।
यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा तुल बहादुर कार्कीको सरुवा भएको छ। ललितपुरमा कार्यरत होबिन्द्र बोगटीलाई प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
प्रहरीका महत्त्वपूर्ण ब्यूरोहरूमा पनि नयाँ नेतृत्व पठाइएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवास चन्द्र बोहरा र मानव बेचबिखन ब्यूरोमा नकुल पोखरेललाई जिम्मेवारी दिइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ भने उपत्यका ट्राफिकको रिक्त स्थानमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ।
तालिम केन्द्रहरूतर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र (पोखरा) मा सञ्जय सिंह थापा, कोशी प्रदेश (विराटनगर) मा शिव कुमार श्रेष्ठ र बागमती प्रदेश (दुधौली) मा वीर बहादुर बुढामगरलाई पठाइएको छ।
यसैगरी, प्रभु ढकाललाई मधेस प्रदेश प्रहरी कार्यालय र दयानिधि ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका कृष्ण प्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पठाइएको छ।
सरकारले शान्ति सुरक्षालाई थप मजवुत बनाउन र प्रशासनिक सुदृढीकरणका लागि यो ठूलो सङ्ख्यामा सरुवा गरेको जनाएको छ। सरुवा भएका अधिकृतहरूले छिट्टै आफ्नो नयाँ कार्यक्षेत्रमा पदभार ग्रहण गर्नेछन्।