उत्तराखण्ड बाढीमा जाजरकोटका १३ नेपाली बेपत्ता, खोज तथा उद्धारका लागि आग्रह

 

काठमाडौं/जाजरकोट । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लाको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको भीषण बाढीमा परी नेपालको जाजरकोट जिल्लाका १३ जना नेपाली मजदुर बेपत्ता भएका छन्। रोजगारीका लागि भारतको उक्त क्षेत्रमा गएका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

बेपत्ता हुनेहरू जाजरकोटको कुशे गाउँपालिका–२ का बासिन्दा रहेको गाउँपालिकाले जनाएको छ।

अध्यक्षद्वारा परराष्ट्र मन्त्रालयसँग सहयोगको अपिल
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै बाढीमा परेर आफ्ना १३ जना स्थानीय बासिन्दा बेपत्ता भएको जानकारी दिएका छन्। उनले बेपत्ता भएका मजदुरहरू हालसम्म सम्पर्कमा नआएको र परिवारजनले उनीहरूसँग सम्पर्क हुन नसकेको बताएका छन्।

अध्यक्ष बस्नेतले विज्ञप्ति मार्फत बेपत्ताको तत्काल खोजी तथा उद्धारका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग विशेष अनुरोध गरेका छन्। उनका अनुसार हर्सिल क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि हालसम्म सम्पर्कमा नरहेको बुझिएको छ, जसको यकिन विवरण संकलन भइरहेको छ।

प्रमुख जिल्ला अधिकारीद्वारा नाम संकलनको निर्देशन
यसैबीच, जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मेखबहादुर मंग्रातीले कुशे गाउँपालिकाबाट केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

उनले यस घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीहरूलाई हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको पूर्ण विवरण तत्काल संकलन गर्न पत्राचारसहित निर्देशन दिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी मंग्रातीले यसबारे गृहमन्त्रालयमा समेत जानकारी गराइएको र आवश्यक समन्वय भइरहेको बताएका छन्।

उत्तराखण्ड क्षेत्रमा विगत केही दिनदेखि लगातारको वर्षापछि बाढी र पहिरोका घटनाहरू बढिरहेका छन्। रोजगारीको सिलसिलामा भारतका विभिन्न क्षेत्रमा नेपाली मजदुरहरू जाने गर्छन्, र यसअघि पनि उत्तराखण्ड तथा हिमाञ्चल प्रदेशमा बाढी तथा पहिरोका कारण नेपाली मजदुरहरू बेपत्ता हुने वा ज्यान गुमाउने घटनाहरू भएका छन्। बेपत्ता भएका मजदुरहरूको शीघ्र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले पहल गरिरहेको जनाइएको छ।