खुर्कोटको बेलीब्रिज मर्मतमा जुट्यो नेपाली सेना, दुई दिनभित्र काम सक्ने लक्ष्य

रामेछाप, २३ साउन । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटस्थित सुनकोसी नदीको बेलीब्रिज जीर्ण बनेपछि नेपाली सेनाले मर्मत कार्य सुरु गरेको छ।

गत कात्तिकमा जडान गरिएको उक्त पुलका नटबोल्ट खुस्किएर हल्लिन थालेपछि सम्भावित दुर्घटना रोक्न सेनाको प्राविधिक टोली परिचालन गरिएको हो।

महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक गणबाट आएको टोलीले बिहीबारदेखि मर्मत थालेको हो। अत्याधिक भार भएका सवारी साधनको आवतजावतले पुल लच्किने र पाताहरू खुकुलो भएर जोखिम बढेको थियो। १५ टन क्षमता तोकिए पनि त्योभन्दा बढी तौलका गाडीहरू चल्दा पुलमा समस्या देखिएको हो।

गत असोज १२ गते आएको बाढीले पुलको ५० मिटर स्पान बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सहकार्यमा यो अस्थायी बेलीब्रिज निर्माण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएअनुसार मर्मत कार्य दुई दिनभित्र सम्पन्न गरी यातायात पुनः सञ्चालनमा ल्याइनेछ।