तिब्बतमा फुटेको तालको बाढी स्याफ्रुबेसी आइपुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ भदौ । चीनको तिब्बतमा पहिरोले थुनिएर बनेको  ताल फुटेपछि आएको भीषण बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १२:३१ बजे भोटेकोशी नदीको बाढी स्याफ्रुबेसी आइपुगेको हो ।

तिब्बतको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको सङ्गम नजिकै बनेको ताल फुटेसँगै नेपालतर्फ बाढीको उच्च जोखिम बढेको थियो । सोही क्षेत्रबाट बगेर आएको लेदोसहितको बाढीले अहिले रसुवाको तल्लो तटीय क्षेत्रमा बहाव बढाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । अर्को सूचना नआएसम्म नदी किनारका बस्तीहरूलाई सुरक्षित स्थानमा रहन र नदीमा आउन सक्ने आकस्मिक बहावप्रति सजग रहन विशेष अनुरोध गरिएको छ ।

ताल फुटेर आएको बाढीले नदीको जलस्तर उल्लेख्य रूपमा बढाउन सक्ने भएकाले तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन र सम्भावित जोखिमबाट बच्न स्थानीय प्रशासनले समेत सर्कुलर जारी गरेको छ ।