चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि

चितवन, २७ साउन । चितवन र आसपासका जिल्लाका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ को सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको परीक्षणमा यो भाइरसले कुखुराको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने, तौल घट्ने र उत्पादनमा ह्रास ल्याउने गरेको पाइएको हो।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार, पछिल्लो तीन महिनामा गरिएको परीक्षणमा ९२ वटा नमुनामध्ये ३१ वटामा (३३ प्रतिशत) यो भाइरसको सङ्क्रमण देखिएको छ। यो रोग लागेपछि कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने र उत्पादन घट्ने जस्ता लक्षण देखिन्छन्। “यो भाइरसले प्रत्यक्ष असर नदेखाए पनि अन्य रोगलाई आक्रमण गर्न सहज बनाउँछ, जसले गर्दा किसानलाई दीर्घकालीन आर्थिक क्षति हुन्छ,” डा. श्रेष्ठले भन्नुभयो।

नेपालमा दुई वर्षअघि काठमाडौंमा पहिलोपटक देखिएको यो रोगबाट बचाउन ब्रोइलर र लेयर्सका माउ तथा चल्लालाई ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको खोप दिनु नै एकमात्र उपाय रहेको विज्ञहरू बताउँछन्।

प्रयोगशालाले गत आर्थिक वर्षमा गरेको परीक्षणमा कुखुरामा ‘एच–नाइन’, रानीखेत, गम्बारो, इकोलाई र साल्मोनेलाजस्ता अन्य रोगको सङ्क्रमण पनि उच्च देखिएको जनाएको छ। डा. श्रेष्ठले फार्महरूमा जैविक सुरक्षाको अभावका कारण यस्ता सङ्क्रमण फैलिने गरेको बताउँदै दाना, पानी, सवारीसाधन र फार्ममा प्रवेश गर्ने व्यक्तिको उचित निःसङ्क्रमणमा ध्यान दिन आग्रह गर्नुभएको छ।