टोखाको मौलिक संस्कृति र सम्पदा जोगाउन प्रदेश सरकारले प्राथमिकता दिने : मन्त्री राजेन्द्र प्रजापती
काठमाडौँ, २० भदौ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले ऐतिहासिक सहर टोखाको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकारले विशेष प्राथमिकता दिने बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा शनिबार टोखाका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री प्रजापतिले टोखास्थित श्री इन्द्रायणी दापा खलः, श्री चण्डेश्वरी भजन समूह तथा श्री पिगं द्यः दापा खलःमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष भजन, सांस्कृतिक कार्यक्रम र पूजापाठको स्थलगत अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा श्री इन्द्रायणी दापा खलःका अध्यक्ष नाति डङ्गोल, उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ तथा गुरु चन्द्रमान डङ्गोलले मन्त्री प्रजापतीलाई स्वागत गर्दै जात्राको प्रसाद प्रदान गर्नुभएको थियो ।
अवलोकनका क्रममा मन्त्री प्रजापतीले टोखाजस्ताे ऐतिहासिक बस्तीका मूर्त तथा अमूर्त सम्पदा, मौलिक बाजागाजा र जात्रापर्वहरू नेपालको पहिचान भएको उल्लेख गर्नुभयो । “ऐतिहासिक महत्त्व बोकेका यस्ता परम्परालाई भावी पुस्तासम्म जीवन्त रूपमा हस्तान्तरण गर्नुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीय समुदायको सक्रियतामा हुने यस्ता सांस्कृतिक अभ्यासले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्दछ ।”
मन्त्री प्रजापतीले टोखा नगरपालिका–३ स्थित प्रसिद्ध श्री पिगं द्यः इन्द्रायणी मन्दिर परिसरमा निर्माण भइरहेको मौलिक सतलपाटीको समेत निरीक्षण गर्नुभयो । श्री पिगं द्यः खलःका सचिव समीर डङ्गोलका अनुसार बागमती प्रदेश सरकारले यस सतलपाटी निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न चरणमा गरी हालसम्म ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
मन्त्री प्रजापतिले विकास निर्माणका काम गर्दा स्थानीय मौलिकता र प्राचीन वास्तुकलालाई कायम राख्न निर्देशन दिनुभयो । सांस्कृतिक सम्पदाको संरक्षणमार्फत टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने उहाँको भनाइ थियो । अवलोकन भ्रमणमा मन्त्रीका स्वकीय सचिव सञ्जीवमान प्रजापतीलगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।