माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट चिनियाँ नागरिकको १० दिनपछि जीवितै उद्धार

काठमाडौँ, भदौ २० । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ (विपद् व्यवस्थापन) टोलीको संयुक्त प्रयासमा आज दिउँसो १:२० बजे आयोजनाको अडिट ४ टनेलबाट ती चिनियाँ नागरिकको सफल उद्धार गरिएको हो । बाढी आएको लामो समयसम्म सुरुङभित्रै रहेका उनलाई जीवितै फेला पार्नुलाई उद्धार टोलीले एक महत्वपूर्ण सफलताका रूपमा लिएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले २१६ मेगावाट क्षमताको उक्त आयोजनामा ठुलो भौतिक क्षति पुर्‍याएको थियो । बाढीका कारण आयोजनाका कतिपय संरचनाहरू क्षतिग्रस्त हुनुका साथै कामदारहरू समेत जोखिममा परेका थिए। सोही समयदेखि सुरुङभित्र सम्पर्कविहीन रहेका ती नागरिकको खोजीका लागि सेना र कोरियन प्राविधिक टोली निरन्तर खटिएको थियो ।

उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्था र थप विवरण भने सार्वजनिक हुन बाँकी छ । बाढीले आयोजनाको पहुँच मार्ग र अन्य पूर्वाधारमा क्षति पुर्‍याएका कारण उद्धार कार्यमा कठिनाइ भएको सेनाले जनाएको छ ।