नाउपाको अध्यक्ष विवादमा रञ्जिता नै कायम, लालवीर चौधरीलाई मान्यता अस्वीकार
काठमाडौँ,२८ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको नेतृत्व विवादमा निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा फैसला गरेको छ । पार्टी संरक्षक रेशम चौधरीले आफ्ना बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाउने प्रयास गरे पनि आयोगले त्यसलाई अस्वीकार गर्दै श्रेष्ठलाई नै आधिकारिकता दिएको हो ।
काठमाडौंमा साउन १५ गते आयोजित एक राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो । सोही निर्णयलाई आधार मान्दै पार्टीको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको थियो । तर, निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानलाई आधार मान्दै उक्त निवेदन खारेज गरेको छ । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहेको निर्णय भएको पुष्टि गर्नुभयो ।
लालवीर चौधरी पार्टीको संस्थापक सदस्य होइनन् । उनी २०७९ को निर्वाचनमा बर्दियाबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएपछि मात्र पार्टी प्रवेश गरेका थिए । पार्टीको २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा उनको नाम समावेश थिएन । यो घटनालाई पार्टीभित्र संरक्षक रेशम चौधरीले श्रीमती रञ्जितालाई हटाएर आफ्ना बाबुलाई नेतृत्वमा ल्याउन गरेको प्रयासका रूपमा हेरिएको छ ।
नाउपाभित्र नेतृत्व परिवर्तनको यो प्रयास पहिलो पटक भने होइन । यसअघि २०८० मा सम्पन्न पहिलो महाधिवेशनले रेशम चौधरीलाई नै अध्यक्ष चुनेको थियो, तर त्यतिबेला पनि आयोगले कानुनी आधारमा मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष कायम राखेको थियो । यो पछिल्लो निर्णयले पार्टीभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ ।