सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या: प्रहरीसँगै ‘खोज्न’ हिँड्ने नै हत्यारा निस्किए

बारा, ३ भदौ । बाराको सिमरामा एक ३ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुम्वासी बस्तीकी गरिमा चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–२ का २१ वर्षीय सुमन थापा र म्याजिक भ्यान चालक प्रोग्रेस चौधरी रहेका छन्।

यस घटनाको सबैभन्दा बिझाउने पक्ष के छ भने, पक्राउ परेका मुख्य आरोपी सुमन थापाले बालिका बेपत्ता भएदेखि नै प्रहरी र स्थानीयसँगै मिलेर ‘खोजतलास’को नाटक गरिरहेका थिए। मंगलबार साँझ बालिकाको शव भेटिएपछि समेत उनले ‘यो हत्या कसले गरेछ, त्यसलाई जसरी पनि समात्नुपर्छ’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरेर अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास गरेका थिए।
यद्यपि, बारा प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान सुरु गरेपछि कुकुरले सुमनतर्फ नै सङ्केत गरेपछि उनी घटनास्थलबाटै समातिएका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान र सुमनको बयानअनुसार, उनी वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। गत आइतबार बिहान करिब साढे ८ बजेतिर उनले बालिकालाई चालक प्रोग्रेस चौधरीको घरबाट फकाएर नजिकैको खाली घरमा लगेका थिए। त्यहाँ बलात्कार गरेपछि बालिका बेहोस भएकी थिइन्।

बयानका क्रममा सुमनले बालिका बेहोस भएपछि डोरीमा झुण्ड्याएर हत्या गरेको र पुनः चालककै घरमा आएर नुहाएको स्वीकार गरेका छन्। उनले दिउँसो फेरि सोही ठाउँमा गएर शवलाई कपडामा पोको पारेर लुकाएका थिए। मंगलबार साँझ गाउँको बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृतक बालिका हालै स्थानीय सरस्वती आधारभूत विद्यालयमा ‘प्ले ग्रुप’मा भर्ना भएकी थिइन्। उनको मृत्युपछि आमा मानमती चौधरी अर्धचेत अवस्थामा छिन् भने पुरै बस्ती शोकमग्न छ। हत्याको विरोधमा र दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै बुधबार स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय सिमरा अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले वीरगञ्ज–पथलैया सडक खण्डमा दुई घण्टादेखि यातायात अवरुद्ध पारेका छन्।

प्रहरीले घटनामा चालक प्रोग्रेस चौधरीको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। सहचालक थापाले भने घटनामा आफ्नो मात्रै संलग्नता रहेको दाबी गरेका छन्।