कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, भदौ ३ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय, सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गर्ने मन्त्रीहरूमा जीतबहादुर मल्ल, टेकराज पछाई र कलबहादुर हमाल रहनुभएको छ । कार्यविभाजन अनुसार मल्लले सामाजिक विकास मन्त्रालय, पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय र हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

सत्ता साझेदार दल नेकपा (एमाले) को तर्फबाट उहाँहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो । यसैबीच, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यभार भने हाललाई मुख्यमन्त्री मङ्गलबहादुर शाही आफैँले सम्हाल्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।