प्रतिनिधिसभाद्वारा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, भदौ ३ । प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री यादवले सांसदहरूले दिनुभएका महत्वपूर्ण सुझावहरूलाई विधेयकमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री यादवले २७ वर्ष पुरानो कानुनलाई वर्तमान समयसापेक्ष बनाउन, सूचना प्रविधिको विकास र बढ्दो जनचेतनालाई सम्बोधन गर्न नयाँ विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहको फेरिएको भूमिका र संघीय संरचना अनुसार तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवारी बाँडफाँट गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो ।”
बालश्रममुक्त घोषणा गरिएका १४ स्थानीय तहका सफल अनुभवलाई आधार मान्दै विधेयकले बालबालिकालाई श्रममा लगाउने दोषीलाई कडा र प्रभावकारी कानुनी कारबाहीको दायरामा ल्याउने विश्वास मन्त्री यादवले व्यक्त गर्नुभयो। स्थानीय सरकारलाई बालबालिकाका समस्याबारे प्रत्यक्ष जानकारी हुने भएकाले उनीहरूको भूमिकालाई विधेयकमा विशेष प्राथमिकता दिइएको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।