पूर्व न्यायाधीश बम कुमार श्रेष्ठले ल्याए विश्वकीर्तिमानी सङ्गीतकार सन्तोषकाे संगीतमा ‘करौँतीको बोट’

काठमाडौँ, २९ साउन । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बम कुमार श्रेष्ठले रचना गरेको नयाँ गीत ‘करौँतीको बोट’ सार्वजनिक भएको छ । प्रेममय भाव बोकेको यो युगल गीतमा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने स्वरमा सन्तोषलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

पछिल्लो समय नेपाली गीत–सङ्गीतमा कम प्रयोग हुन थालेका पुराना र मौलिक शब्दहरूलाई गीतमा कलात्मक रूपमा समेटिएको छ । नृत्यपरक शैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोतालाई रमाइलो अनुभूति प्रदान गर्छ ।

गीतको आकर्षक भिडियो पनि तयार पारिएको छ, जसमा लोकप्रिय अभिनेत्री करिश्मा ढकाल र मोडल सुरेश कोहिलको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

गीतमा राजु कार्कीको सङ्गीत संयोजन, प्रकाश मिश्रको सम्पादन तथा ए.एस.बी. मुस्कान र दिल समर्पणको सङ्गीत सञ्चयन रहेको छ । उक्त गीत सङ्गीतकार सन्तोष श्रेष्ठको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।