गोरखामा चट्याङ लागेर घरभित्र मोबाइल चलाइरहेका एक युवकको मृत्यु
गोरखा, ७ वैशाख । गोरखाको सहिद लखन गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण गम्भीर घाइते भएका २६ वर्षीय विनोद थापाको उपचारका क्रममा गएराति ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार सहिद लखन गाउँपालिका–५ तोरेनस्थित पोखरीडाँडा निवासी थापा आफ्नै घरभित्र बसिरहेका बेला दुर्घटनामा परेका हुन् । थापाले घरभित्रै मोबाइल चलाइरहेको अवस्थामा एक्कासि परेको चट्याङले उनलाई भेटेको थियो ।
बज्रपातबाट गम्भीर घाइते भएका थापालाई तत्काल उद्धार गरी उपचारका लागि सदरमुकामस्थित प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।