आज अक्षय तृतीया पर्व श्रद्धापूर्वक मनाइँदै
महोत्तरी, ७ वैशाख: चन्द्रमास गणना अनुसार वैशाख शुक्ल तृतीया तिथिका दिन आज श्रद्धा र निष्ठाका साथ ‘अक्षय तृतीया’ पर्व मनाइँदै छ। हिन्दू परम्परामा विशेष महत्त्व बोकेको यस दिन भोका र तिर्खाएका बटुवाहरूलाई जौ र चनाको सातु तथा सक्खरको सर्वत खुवाउने प्रचलन रहेको छ।
यस दिन गरिने दान र सेवाबाट प्राप्त हुने पुण्य कहिल्यै नाश नहुने अर्थात् ‘अक्षय’ रहने जनविश्वासका कारण बिहानैदेखि विभिन्न स्थानमा बाटो कुरेरै बटुवाहरूलाई शीतल पेय र खाजा वितरण गर्ने गरिन्छ।
धार्मिक तथा स्वास्थ्य महत्त्व
अक्षय तृतीयालाई धार्मिकसँगै स्वास्थ्यको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। गर्मीको समयमा शरीरबाट पसिना धेरै निस्कने हुँदा शक्तिवर्द्धक सक्खरको सर्वत र पुष्टिवर्द्धक अन्न जौ तथा चनाको सातु सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ। बर्दिबासका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाका अनुसार, यो पर्वले मौसम अनुकूलको खानपान र जीवनशैली अपनाउने सन्देश समेत प्रवाह गर्दछ।
पौराणिक मान्यता र सामाजिक परम्परा
भविष्य पुराणमा उल्लेख भए अनुसार, अक्षय तृतीयाकै दिन भगवान् विष्णुको छैटौँ अवतारका रूपमा भगवान् पर्शुरामको जन्म भएको थियो भने यसै दिन भगवान् शिव र देवी पार्वतीको विवाह भएको पनि धार्मिक मान्यता छ। मैथिल परम्परा अनुसार यस पर्वमा कुल पुरोहित र विपन्न वर्गलाई स्वर्ण, शीतल खाद्य परिकार तथा वस्त्र दान गर्ने गरिन्छ। यसो गर्दा घरको अन्न भण्डार कहिल्यै खाली नहुने विश्वास गरिन्छ।
शुुभ साइतको आवश्यकता नपर्ने दिन
यस दिनलाई अत्यन्तै शुभ मानिने भएकाले नयाँ घरबास, बालबालिकाको अन्नप्राशन, विवाह र अन्य माङ्गलिक कार्यका लागि छुट्टै साइत हेर्नु नपर्ने मान्यता रहेको छ। समग्रमा, यो पर्वले समाजमा दीनदुःखी र भोकाएकाहरूको सेवा गर्ने नैतिक सन्देशका साथै सुख र समृद्धिको कामना गर्ने अवसर प्रदान गर्दै आएको छ।